मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिका-इरान वार्ताले तेलको मूल्यमा निरन्तर गिरावट

lokaantar.com

अमेरिका र इरानबीचको कूटनीतिक वार्ता सकारात्मक दिशामा अगाडि बढ्दै जाँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा निरन्तर गिरावट आउन थालेको छ। लामो समयदेखिको भूराजनीतिक तनावका कारण अस्थिर बनेको विश्व ऊर्जा बजारले वार्तासँगै ठूलो राहत महसुस गरेको हो ।

पछिल्लो कारोबारअनुसार अन्तर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्यमा करिब ०.५ प्रतिशतले गिरावट आएको छ। यो गिरावटसँगै कच्चा तेलको मूल्य प्रति ब्यारेल ७६.७१ डलरमा झरेको छ। बजार विश्लेषकहरूका अनुसार यो गत मार्च महिनायताकै सबैभन्दा कम स्तर हो।

विश्व बजारमा कच्चा तेलको मूल्य निर्धारणमा मध्यपूर्वको भूराजनीतिक अवस्थाले सबैभन्दा ठूलो भूमिका खेल्छ। अहिले मूल्य घट्नुको मुख्य कारण अमेरिका र इरानबीचको सम्भावित सम्झौता र त्यसले ल्याउने सहजता हो।

विज्ञहरूका अनुसार बजारमा मूल्य घट्नुका पछाडि दुई प्रमुख कारण होर्मुज जलमार्ग पुनः खुल्ने अपेक्षा र आपूर्तिमा वृद्धि रहेका छन् ।

केही समयअघिसम्म मध्यपूर्वको तनावले तेलको आपूर्ति शृङ्खला अवरुद्ध हुने डरले लगानीकर्ताहरू त्रसित थिए, जसले मूल्यलाई उच्च विन्दुमा राखेको थियो। तर, वार्ता अघि बढेसँगै विश्वव्यापी तेल आपूर्ति शृङ्खलामा देखिएका अवरोधहरू हट्ने सङ्केतले लगानीकर्ताहरूको चिन्ता कम गरिदिएको छ।

लगानीकर्ताहरू अब तेलको सञ्चय गर्नुभन्दा पनि बिक्रीतर्फ लागेका कारण मूल्यमा थप दबाब परेको हो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा नेपालजस्ता तेल आयातकर्ता राष्ट्रहरूलाई पनि इन्धनको मूल्य स्थिर राख्न वा घटाउन ठूलो राहत मिल्ने अर्थशास्त्रीहरूको भनाइ छ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)