मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपाको राजनीतिक 'लाइन क्लियर', पौडेललाई बिनासर्त रिहा गर्न एमालेको माग

lokaantar.com

'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझै आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा रवि लामिछाने निर्विरोध भएका छन् । चितवनमा जारी महाधिवेशनमा अध्यक्ष पदमा लामिछानेको मात्रै उम्मेदवारी परेपछि सर्वसम्मत भएको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिए । मंगलबार उम्मेदवारी दर्ताको निर्धारित समयमा प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन शाहको प्रस्ताव र ५१ जना सदस्यहरूको समर्थनमा लामिछानेले उम्मेदवारी दर्ता गराएका थिए । केन्द्रीय समिति सदस्यका लागि भने आज मतदान हुँदैछ ।

०००

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठकले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई प्रतिशोधपूर्ण, पूर्वाग्रहप्रेरित र गैरकानुनी भएको ठहर गर्दै त्यसको राजनीतिक तथा कानुनी रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ। अध्यक्षको निवास गुण्डु, भक्तपुरमा मंगलबार बसेको सचिवालयको नवौँ बैठकले सम्पत्ति शुद्धीकरणको बहानामा कुनै वस्तुपरक तथ्य र प्रमाणबिना पौडेललाई पक्राउ गरिएको दाबी गर्दै उक्त कदमको निन्दा गरेको सचिव महेश बस्नेतले जानकारी दिए । बैठकले विशेष अदालतले पूर्वपक्षका लागि थुनामा राख्न दिएको आदेशसमेत न्यायसम्मत नरहेको निष्कर्ष निकालेको छ। साथै, पौडेललाई बिनासर्त अविलम्ब रिहा गर्न सरकारसँग माग गरेको छ। एमालेले राज्य संयन्त्रबाट भएको भनिएको प्रतिशोधपूर्ण र विभेदकारी कदमविरुद्ध देशव्यापी राजनीतिक प्रतिरोध तथा भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ। बैठकले पार्टीपङ्क्ति र न्यायप्रेमी जनसमुदायलाई उक्त अभियानमा सहभागी हुन आह्वान गरेको छ।

०००

विशेष अदालतले नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न ७ दिनको अनुमति दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका लागि विशेष अदालतले मंगलबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई ७ दिनको अवधि प्रदान गरेको सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन् । विभागले २० दिनको समय माग गरेको थियो । विशेष अदालतका न्यायाधीहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले म्याद थप अनुमति दिएको हो । विभागले इमेलमार्फत पठाएको पत्रका आधारमा नेपाल प्रहरीले पौडेललाई जरूरी पक्राउ पूर्जी जारी गरी सोमबार साँझ करिब ५:१५ बजे सुर्खेतबाट पक्राउ गरेको थियो । पक्राउपछि उनलाई नेपालगञ्ज हुँदै स्थलमार्गमार्फत काठमाडौं ल्याएर विभागमा उपस्थित गराइएको थियो । दीपक भट्टसमेतविरुद्ध दायर सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अभियोगपत्रमा चुन्नप्रसाद शर्मा र कमलकिशोर मालपानीले दिएको बयानका आधारमा विभागले पौडेललाई पक्राउ गरेको हो । भियोगपत्रअनुसार श्रीराम टोबाकोको २० प्रतिशत सेयर अर्को कम्पनीले खरिद गर्ने क्रममा विष्णु पौडेलले दबाब दिएको भन्ने उनीहरूको बयान रहेको छ ।

०००

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो मुख्य राजनीतिक सिद्धान्तका रूपमा 'सामाजिक लोकतन्त्र' लाई अगाडि सारेको छ। चितवनमा आयोजित पार्टीको ऐतिहासिक पहिलो महाधिवेशनमा सभापति रवि लामिछानेले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पार्टीको मार्गदर्शक सिद्धान्त अब सामाजिक लोकतन्त्र हुने स्पष्ट पारिएको हो। यसअघि 'संवैधानिक समाजवाद' लाई आत्मसात गर्ने भनिए तापनि वर्तमान आर्थिक-सामाजिक परिवेश र नागरिकको आकांक्षालाई सम्बोधन गर्न 'सामाजिक लोकतन्त्र' नै उपयुक्त हुने निष्कर्षमा पार्टी पुगेको लामिछानेले मंगलबारको बन्दसत्रमा पेस गरेको प्रतिवेदनमा उल्लेख छ। सभापति लामिछानेले सामाजिक लोकतन्त्रलाई पाँचवटा मुख्य आधार स्तम्भहरूमा व्याख्या गरेका छन्। जसमा प्रतिस्पर्धात्मक उदार अर्थतन्त्रलाई पहिलो प्राथमिकता दिइएको छ। रास्वपाले राज्य आफैं व्यापारमा लाग्नुभन्दा पनि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने, लगानीको सुरक्षा गर्ने र बजारमा स्वस्थ प्रतिस्पर्धा सुनिश्चित गर्ने नीति लिएको छ। यद्यपि, बजारको खुलापनसँगै गरिबी निवारण र समतामूलक समृद्धिका लागि राज्यले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने धारणा पार्टीले अघि सारेको छ। सिद्धान्तको अर्को महत्वपूर्ण पक्षका रूपमा 'विधिको शासन' र 'जनउत्तरदायी सरकार' लाई समेटिएको छ।

०००

चितवनको भरतपुरस्थित लर्ड्स बिजनेस कम्प्लेक्स होटललाई खाद्य गुणस्तरमा लापरबाही गरेको आरोपमा तीन लाख रुपैयाँ जरिवाना गरिएको छ। गृहमन्त्री सुधन गुरुङले होटलमा अम्लेट खाने क्रममा माछाको काँडा फेला परेपछि प्रशासनले अनुगमन गरेको थियो। अनुगमनका क्रममा गुणस्तरहीन खाने तेल प्रयोग गरिएको, तरकारीको ताजापनमा ध्यान नदिएको तथा उपभोक्ताको स्वास्थ्यमा असर पर्ने किसिमका खाद्य सामग्री बिक्री गरिएको पाइएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ अन्तर्गत कसुर गरेको ठहर गर्दै होटललाई तीन लाख रुपैयाँ जरिवाना गर्नुका साथै बरामद खाद्य सामग्री नष्ट गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ।

०००

पशु सेवा विभागले मुलुकका विभिन्न भागमा देखिएको बर्ड फ्लु रोग नियन्त्रणका लागि उच्च सतर्कताका साथ काम भइरहेको जनाएको छ। विभागले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै विगत तीन महिनादेखि देखा परेको यो संक्रामक रोग हालसम्म देशका ११ जिल्लाका ८२ स्थानमा पुष्टि भइसकेको जानकारी दिएको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार गत चैत्र ४ गते मोरङ जिल्लाबाट सुरु भएको यो प्रकोप हाल झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासीसहित काठमाडौँ उपत्यकाका तीनै जिल्ला र काभ्रेपलाञ्चोकमा फैलिएको हो। रोग नियन्त्रणका लागि विभागले हालसम्म ५ लाख ६९ हजार ८ सय ५८ वटा पन्छी नष्ट गरिसकेको छ। पन्छीसँगै ९ लाख ८९ हजार ३ सय १३ वटा अण्डा र करिब १ लाख ९५ हजार ४ सय ८५ किलो दाना समेत सुरक्षित रूपमा नष्ट गरिएको विभागले जनाएको छ।

०००

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनमा प्रस्तुत संगठनात्मक प्रतिवेदनमार्फत् देशभर ५ लाख २३ हजार ५ सय ६५ सदस्य रहेको जनाएको छ । पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रस्तुत गरेको प्रतिवेदनमा मधेश प्रदेश रास्वपाको सबैभन्दा ठूलो सदस्य आधार भएको प्रदेशका रूपमा उल्लेख गरिएको छ । प्रतिवेदनअनुसार कूल सदस्यमध्ये २३.३ प्रतिशत मधेश प्रदेशमा रहेका छन् । बागमती प्रदेश २०.५ प्रतिशतसहित दोस्रो स्थानमा छ ।

कोशीमा १४ प्रतिशत, लुम्बिनीमा १४.५ प्रतिशत, गण्डकीमा ११.८ प्रतिशत, सुदूरपश्चिममा १०.६ प्रतिशत र कर्णालीमा ५.२ प्रतिशत सदस्य रहेको विवरणमा उल्लेख छ । पार्टीको सदस्य संरचनामा पुरुषको हिस्सा ७५.८ प्रतिशत रहेको छ भने महिलाको सहभागिता १७.२ प्रतिशत मात्र रहेको प्रतिवेदनले देखाएको छ ।

०००

अशोक कुमार राईले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । राई नेतृत्वको समूहले सोमबार निर्वाचन आयोगमा ‘समाजवादी पार्टी’ दल दर्ताका लागि निवेदन दिएको हो । अशोक राई अध्यक्ष रहेको पार्टीको उपाध्यक्षहरूमा सुशीला श्रेष्ठ, राधादेवी तिमिल्सिना र दानबहादुर विश्वकर्मा रहेका छन् । त्यस्तै, शरण कुमार राई उपमहासविच तथा सचिव पदमा हेमन्तराज मान्डव्य, मनिकर कार्की र भीमबहादुर तामाङ रहेका छन् ।

अध्यक्ष राईले ८ जना पदाधिकारीसहित २८ जनाको केन्द्रीय समिति सदस्यको नामावली लिएर दल दर्ताका लागि निवेदन दिएका हुन् । यसअघि अशोक राईको समूहले उपेन्द्र यावदको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी, नेपाल फुटाएर जनता समाजवादी पार्टी गठन गरेको थियो । सो पार्टी फुटविरुद्ध उपेन्द्र यादवले सर्वोच्च अदालतमा मुद्दा दिएका थिए । यो मुद्दामा सर्वोच्चले राई नेतृत्वको जसपालाई कानूनी मान्यता नदिएपछि उनीहरू पार्टीविहीन बन्न पुगेका थिए । त्यसपछि राई पक्षले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको हो ।

०००

अमेरिका र इरानबीचको कूटनीतिक वार्ता सकारात्मक दिशामा अगाडि बढ्दै जाँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा निरन्तर गिरावट आउन थालेको छ। लामो समयदेखिको भूराजनीतिक तनावका कारण अस्थिर बनेको विश्व ऊर्जा बजारले वार्तासँगै ठूलो राहत महसुस गरेको हो । पछिल्लो कारोबारअनुसार अन्तर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्यमा करिब ०.५ प्रतिशतले गिरावट आएको छ। यो गिरावटसँगै कच्चा तेलको मूल्य प्रति ब्यारेल ७६.७१ डलरमा झरेको छ। बजार विश्लेषकहरूका अनुसार यो गत मार्च महिनायताकै सबैभन्दा कम स्तर हो। विश्व बजारमा कच्चा तेलको मूल्य निर्धारणमा मध्यपूर्वको भूराजनीतिक अवस्थाले सबैभन्दा ठूलो भूमिका खेल्छ। अहिले मूल्य घट्नुको मुख्य कारण अमेरिका र इरानबीचको सम्भावित सम्झौता र त्यसले ल्याउने सहजता हो।

विज्ञहरूका अनुसार बजारमा मूल्य घट्नुका पछाडि दुई प्रमुख कारण होर्मुज जलमार्ग पुनः खुल्ने अपेक्षा र आपूर्तिमा वृद्धि रहेका छन् । केही समयअघिसम्म मध्यपूर्वको तनावले तेलको आपूर्ति शृङ्खला अवरुद्ध हुने डरले लगानीकर्ताहरू त्रसित थिए, जसले मूल्यलाई उच्च विन्दुमा राखेको थियो। तर, वार्ता अघि बढेसँगै विश्वव्यापी तेल आपूर्ति शृङ्खलामा देखिएका अवरोधहरू हट्ने सङ्केतले लगानीकर्ताहरूको चिन्ता कम गरिदिएको छ। लगानीकर्ताहरू अब तेलको सञ्चय गर्नुभन्दा पनि बिक्रीतर्फ लागेका कारण मूल्यमा थप दबाब परेको हो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा नेपालजस्ता तेल आयातकर्ता राष्ट्रहरूलाई पनि इन्धनको मूल्य स्थिर राख्न वा घटाउन ठूलो राहत मिल्ने अर्थशास्त्रीहरूको भनाइ छ।

०००

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा पोर्चुगलले उज्वेकिस्तानलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको छ। मंगलबार राति भएको यस खेलमा दुई गोल गर्दै ४१ वर्षीय कप्तान क्रिस्टियानो रोनाल्डो विश्वकप इतिहासमा लगातार ६ वटा संस्करण (२००६–२०२६) मा गोल गर्ने विश्वकै पहिलो खेलाडी बनेका छन्। खेलको ६औँ र ३९औँ मिनेटमा गोल गरेका रोनाल्डोले पोर्चुगलका लागि विश्वकपमा सर्वाधिक गोल (१० गोल) गर्ने महान् खेलाडी युसेबियोको कीर्तिमान समेत तोडेका छन्। साथै, उनी रोजर मिला (४२ वर्ष) पछि विश्वकपमा गोल गर्ने दोस्रो पाको खेलाडी बनेका छन्।

पोर्चुगलको सानदार जितमा नुनो मेन्डेसले १७औँ मिनेटमा फ्रि-किकमार्फत र सब्सिच्युट राफेल लियाओले खेलको अन्त्यतिर १-१ गोल थपे भने उज्वेकिस्तानका गोलकिपर अब्दुभोहिद नेमातोभबाट एक आत्मघाती गोल भएको थियो। उज्वेकिस्तानका अजिज गानिएभले गरेको एक गोललाई भने 'भीएआर' ले फाउल भन्दै रद्द गरिदिएको थियो।

पहिलो खेलमा डीआर कङ्गोसँग १-१ को बराबरी खेलेपछि तीव्र आलोचना खेपेका रोनाल्डोले यस जितसँगै आलोचकहरूलाई कडा जवाफ दिएका छन्। खेलपछि 'म फर्किएको छु' भन्दै उनले फुटबलको गफमा भन्दा कडा मिहिनेतमा विश्वास गर्ने बताए। अर्जेन्टिनाका लियोनेल मेसीले बनाएको १८ गोलको कीर्तिमानबारे सोधिएको प्रश्नमा रोनाल्डोले आफूलाई मेसीको रेकर्डसँग सरोकार नभएको र मुख्य लक्ष्य पोर्चुगललाई जिताउनु रहेको स्पष्ट पारे। यस जितसँगै ४ अङ्क जोडेको पोर्चुगल समूह ‘के’ को शीर्ष स्थानमा उक्लिएको छ भने लगातार दुई हार बेहोरेको उज्वेकिस्तान अङ्कविहीन हुँदै पुछारमा रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)