गोरखामा हुलाकमार्फत घरमै राहदानी
barnanmedia.com · Wed Sep 16 02:57:49 GMT 2026

जिल्ला हुलाक कार्यालयमार्फत जिल्लाका ५५० जनाले घरमै राहदानी प्राप्त गरेका छन् । वैशाख १५ गतेयता जिल्लाभर ५५० जनाले घरमै राहदानी बुझेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो । घरमै राहदानी लिन ६०० जनाले फाराम भरेकामा हालसम्म ५५० जनाले सेवा लिइसकेको उहाँले जानकारी दिनुभयो ।
बाँकीको राहदानी आउने क्रममा रहेको उहाँको भनाइ छ । गत चैत १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले हुलाकमार्फत नागरिकको घरघरमै राहदानी (पासपोर्ट) पुर्याउने निर्णय गरेको थियो । सरकारको शासकीय सुधार कार्यक्रमअन्तर्गत हुलाक सेवामार्फत राहदानी नागरिकको घरघरमै पुर्याउने नीतिनुसार जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयबीच वैशाख १५ गते सम्झौता भएको जिल्ला हुलाक अधिकृत विनोद गैरेले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाकबीच गृहजिल्लाभित्र नागरिकको घरघरमा राहदानी पुर्याउने सम्झौता भएको उहाँको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)