इरानविरुद्धको युद्ध रोक्न अमेरिकी सिनेटको निर्देशन- आफ्नै पार्टीका सांसदको विद्रोहले ट्रम्पलाई झट्का
nepalviews.com · Wed Jun 24 03:54:50 GMT 2026

एजेन्सी । अमेरिकी सिनेटले इरानविरुद्धको युद्ध रोक्न र कुनै पनि सैन्य कारबाही अघि संसद् (काङ्ग्रेस) को अनिवार्य स्वीकृति लिन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई निर्देशन दिएको छ। रिपब्लिकन पार्टीको बहुमत रहेको सिनेटमा राष्ट्रपति ट्रम्पको सैन्य कदमप्रति आफ्नै दलका सांसदहरूले असन्तोष जनाउँदै विपक्षमा मतदान गरेपछि यो प्रस्ताव पारित भएको हो। यसलाई ट्रम्पका लागि ठुलो राजनीतिक झट्काका रूपमा हेरिएको छ।
मङ्गलवार भएको मतदानमा युद्ध रोक्नुपर्ने प्रस्तावको पक्षमा ५० र विपक्षमा ४८ मत परेको थियो। इरानसँगको युद्धलाई लिएर डेमोक्र्याट्ससँगै रिपब्लिकन सदस्यहरूभित्र पनि तीव्र असन्तोष बढेका कारण प्रस्ताव बहुमतले पारित भएको हो।
ट्रम्पको आफ्नै दल रिपब्लिकनका दुई प्रभावशाली सिनेटरहरू मिच म्याककोनेल र डेभ म्याककर्मिक मतदानका बेला अनुपस्थित थिए। चार रिपब्लिकन सिनेटरहरू र्यान्ड पल, लिसा मर्कोव्स्की, सुसान कोलिन्स र बिल क्यासिडीले पार्टी ह्विप उल्लङ्घन गर्दै डेमोक्र्याटहरूसँग मिलेर प्रस्तावको पक्षमा मतदान गरे।
अर्कोतर्फ, डेमोक्र्याटतर्फका एक मात्र सिनेटर जोन फेटरम्यानले भने पार्टी लाइनविपरीत यस प्रस्तावको विपक्षमा (ट्रम्पको समर्थनमा) मतदान गरेका थिए।
तल्लो सदनबाट यसअघि नै पारित यो प्रस्ताव यसै महिनामा संसद्को तल्लो सदन 'हाउस अफ रिप्रिजेन्टेटिभ्स'बाट पनि पारित भइसकेको छ। प्रतिनिधिसभामा पनि चार रिपब्लिकन सांसदहरूले सबै डेमोक्र्याटहरूसँग सहकार्य गर्दै प्रस्तावको पक्षमा मतदान गरेपछि २१५–२०८ मतले प्रस्ताव अनुमोदन भएको थियो।
प्राविधिक रूपमा यो प्रस्तावलाई 'प्रतीकात्मक' मात्र मानिएको छ। काङ्ग्रेसका दुवै सदनबाट पारित भए तापनि यसलाई कार्यान्वयनका लागि राष्ट्रपति ट्रम्पसमक्ष पठाइँदैन र यसको कानुनी रूपमा बाध्यकारी प्रभाव हुँदैन।
कानुनी रूपमा बाध्यकारी नभए पनि सन् १९७३ को ‘वार पावर्स रिजोलुसन’ लागू भएयता अमेरिकी इतिहासमा पहिलो पटक काङ्ग्रेसका दुवै सदनले राष्ट्रपतिलाई सैन्य कारबाही समाप्त गर्न निर्देशन दिने प्रस्ताव पारित गरेका हुन्। त्यसैले यस कदमलाई अमेरिकी राजनीतिमा निकै महत्त्वपूर्ण मानिएको छ।
यो मतदानलाई आगामी नोभेम्बरमा हुने मध्यावधि चुनाव (मिडटर्म इलेक्सन) अघि रिपब्लिकन पार्टीभित्र चुलिँदै गएको मतभेदको बलियो सङ्केतका रूपमा हेरिएको छ। अमेरिका–इरान तनावका कारण विश्वभर पेट्रोलियम पदार्थको मूल्य बढेको छ भने अमेरिकी जनतामाझ पनि युद्धविरोधी भावना तीव्र बनेको छ, जसले ट्रम्पमाथि युद्ध अन्त्य गर्न चौतर्फी दबाब बढाएको छ।
तर, ह्वाइट हाउसका एक अधिकारीले बीबीसीलाई दिएको जानकारीअनुसार गत अप्रिल ७ को युद्धविरामपछि अहिले त्यहाँ कुनै सक्रिय सैन्य कारबाही जारी छैन। त्यसैले तत्कालै अमेरिकी सैनिकहरूलाई फिर्ता बोलाउनुपर्ने कुनै विशेष अवस्था नरहेको दाबी ह्वाइट हाउसको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
डोनाल्ड ट्रम्प