मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मदन भण्डारी कप भलिबल : टिप टप न्यु डायमन्ड र न्यु डायमन्ड एकेडेमी फाइनलमा

ratopati.com · Wed Jun 24 04:04:53 GMT 2026

काठमाडौँ। टिप टप न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र न्यु डायमन्ड एकेडेमी मदन भण्डारी कप यु–१९ विद्यालयस्तरीय बागमती प्रदेश छात्रा भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।

मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीको कोर्टमा मंगलबार भएका आ–आफ्ना सेमिफाइनल खेलहरू जित्दै दुवै टोलीले उपाधि भिडन्त पक्का गरेका हुन्।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा टिप टप न्यु डायमन्डले गणेश हिमालमाथि २५–१८, २५–१० र २५–७ को सोझो सेटमा सहज जित निकाल्यो। यसैगरी अर्को सेमिफाइनल प्रतिस्पर्धामा न्यु डायमन्ड एकेडेमीले हेलम्बुको सरस्वती स्कुललाई सीधा सेटमा २५–१७, २५–१२ र २५–१० ले पाखा लगाउँदै फाइनलको यात्रा तय गर्‍यो। दुवै न्यु डायमन्डबीचको फाइनल खेल बुधबार हुनेछ।

प्रतियोगिताको शीर्ष चार स्थानमा रहने टोलीहरूले क्रमशः १ लाख, ५० हजार, ३० हजार र १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन्। विधागततर्फ प्रतियोगिताका उत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ पुरस्कार पाउने छन् भने उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकलाई जनही ५ हजार रुपैयाँ नगदबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)