मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकी संसद्‌बाट ‘वार पावर्स’ प्रस्ताव पारित

baahrakhari.com · Wed Jun 24 04:19:25 GMT 2026

काठमाडौं । रिपब्लिकनहरूको वर्चस्व रहेको अमेरिकी सिनेटले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानसँगको युद्ध रोक्न वा भविष्यमा सैन्य कारबाही जारी राख्नुअघि कंग्रेसको स्वीकृति लिन निर्देशन दिने एउटा प्रस्ताव पारित गरेको छ ।

मंगलबार भएको ५०–४८ को मतदानमा केही रिपब्लिकन सांसदहरूले पनि डेमोक्रेट सांसदहरूलाई साथ दिएका थिए । यही प्रस्ताव यसै महिनाको सुरुमा अमेरिकी तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’बाट पनि पारित भइसकेको थियो ।

तर, यो प्रस्ताव ठूलो हदसम्म प्रतीकात्मक मात्रै भएको जनाइएको छ । कंग्रेसका दुवै सदनबाट पारित भए पनि यसलाई राष्ट्रपतिको विचारका लागि ट्रम्पकहाँ पठाइने छैन । यसको कुनै कानुनी बाध्यता वा कार्यान्वयन शक्ति हुँदैन ।

इरानीहरूसँग ट्रम्पले गरेको शान्ति सम्झौताप्रति कंग्रेसका केही रिपब्लिकन सदस्यहरूले आशंका व्यक्त गरिरहेका छन् । जनतामाझ अलोकप्रिय बन्दै गएको इरानसागको द्वन्द्व पाँचौँ महिनामा प्रवेश गर्न लागेका बेला उक्त मतदान भएको हो ।

सन् १९७३ को ‘वार पावर्स रिजोल्युसन’ लागु भएयता कंग्रेसका दुवै सदनले राष्ट्रपतिलाई सैन्य कारबाही अन्त्य गर्न निर्देशन दिँदै ‘कनकरेन्ट रिजोल्युसन’ पारित गरेको यो पहिलोपटक भएको बताइएको छ ।

‘कनकरेन्ट रिजोल्युसन’ले कंग्रेसको भावना वा धारणा व्यक्त गर्छ । यो अन्य विधेयकजस्तो राष्ट्रपतिको हस्ताक्षरपछि कानुन बन्ने व्यवस्था भएको प्रस्ताव भने होइन ।

सन् २०१९ मा ट्रम्पले यमनको गृहयुद्धबाट अमेरिकी सशस्त्र बल फिर्ता बोलाउन माग गरिएको एउटा संयुक्त प्रस्तावलाई ‘भिटो’ गरिदिएका थिए ।

मध्यपूर्व मामिलाकी विश्लेषक लौरा ब्लुमेनफेल्डले यसलाई हतकडी लगाउनुभन्दा पनि हातमा थप्पड हानेर चेतावनी दिनुजस्तै भएको टिप्पणी गरेकी छन् । उनका अनुसार, यसको कुनै कानुनी बाध्यता छैन । तर, उनले बीबीसीसँग कुरा गर्दै यसले अमेरिकी जनताको भावनालाई भने प्रतिविम्बित गरेको बताएकी छन् ।

पेट्रोलियम पदार्थको मूल्यमा भएको तीव्र वृद्धिका कारण जनतामाझ अलोकप्रिय बन्दै गएको छ । इरान युद्ध अन्त्य गर्न ह्वाइट हाउसमाथि थप दबाब सिर्जना गर्ने भएकाले यो समवर्ती प्रस्तावको पारित हुनु महत्त्वपूर्ण मानिएको छ ।

यही प्रस्ताव यसै महिनाको सुरुमा अमेरिकी प्रतिनिधिसभाबाट पनि पारित भएको थियो । त्यहाँ चार रिपब्लिकन सांसदले सबै डेमोक्र्याट सदस्यहरूसँग मिलेर २१५–२०८ मतले प्रस्तावलाई स्वीकृति दिएका थिए ।

तर, ह्वाइट हाउसका एक अधिकारीले बीबीसीलाई बताएअनुसार ७ अप्रिलमै युद्धविराम भइसकेकाले अमेरिकी सेना फिर्ता बोलाउनुपर्ने अवस्थाको कुनै सक्रिय सैन्य द्वन्द्व अहिले बाँकी छैन ।

ती अधिकारीले मिच म्याककोनेल र डेभ म्याककोर्मिक गरी दुई रिपब्लिकन सिनेटर अनुपस्थित भएका कारण मात्र यो प्रस्ताव पारित हुन सकेको दाबी गरेका छन् ।

रिपब्लिकन सिनेटरहरू र्‍यान्ड पल, लिसा मुर्कोव्स्की, सुसान कोलिन्स र बिल क्यासिडीले प्रस्तावको पक्षमा डेमोक्रेट सदस्यहरूसँगै मतदान गरेका थिए । यता, डेमोक्रयाटिक सिनेटर जोन फेटरम्यान भने आफ्नो पार्टीबाट प्रस्तावको विपक्षमा मतदान गर्ने एकमात्र सदस्य बने ।

#डोनाल्ड ट्रम्प

#रिपब्लिकन

#प्रस्ताव

#अमेरिकी संसद्

#वार पावर्स

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)