मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अख्तियारले तामेलीमा राखेका अनुसन्धानमाथि पनि छानबिन आवश्यक बालेन सरकारको नजर

barnanmedia.com · Wed Jun 24 04:19:50 GMT 2026

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी घोटाला प्रकरणको मुद्दा विशेष अदालतमा दायर गरेपछि एकातिर ठूला भ्रष्टाचार काण्ड अब कसैले दबाएर छिपाएर उन्मुक्ति पाउने छैन भन्ने सन्देश प्रवाह गर्न सफल भएको छ ।

किनभने बहालवाला सहसचिव एवं राहदानी विभागका महानिर्देशक नै थुनामा परेका छन् र विगतमा राजनीतिक नेतृत्वको इशारा अनि ठेकेदारहरुको सेटिङमा अर्बौँ रुपैयाँ मुलुकलाई नोक्सान पुर्‍याएर गोरखधन्दा चलाउनेहरु कानुनको अठघरामा उभिन बाध्य भएका छन् ।

अर्कोतिर यसै प्रकरणले थप प्रश्न पनि जन्माएको छ । तत्कालीन परराष्ट्र मन्त्री आरजु राणा देउवालाई जोगाएर मुद्दा दायर गरेपछि अख्तियारले राजनीतिक नेतृत्वउपर मुद्दा चलाउन खुट्टा कमाएको हो कि भनेर चर्चा र बहस गर्ने ठाउँ बनाइदिएको छ । हुन त अख्तियारका अधिकारीहरु ठेक्का प्रक्रियामा मन्त्रीले हस्ताक्षर नगर्ने भएकाले यस्ता प्रकरणमा कर्मचारी र ठेकेदारलाई मात्र तान्न मिलेको बताउँछन् । साथसाथै आरजुमाथि पनि छानबिन जारी रहेकाले जुनसुकै बखत पूरक अभियोग अदालतमा प्रस्तुत गर्न सकिने प्रस्टीकरण पनि अख्तियारका पदाधिकारीहरुले दिएको पाइन्छ । तर मूल मुद्दामै राजनीतिक नेतृत्व गाँसिएर नआएपछि यो मुद्दा कतै अदालतमा कमजोर रुपमा प्रस्तुत भएको त छैन भन्ने अर्को प्रश्न जन्माउँछ । यस्तो भएमा भ्रष्टाचारीहरुले थप उन्मुक्ति पाउनेछन् । अख्तियारले अनुसन्धान, अभियोजन र बहस पैरबीका क्रममा गरेको लगानी खरानी हुन सक्नेछ । सबैभन्दा डरलाग्दो पक्ष भनेको देशमा पुनः भ्रष्टाचारीको जगजगी चल्नेछ ।

यसबाहेक पनि अख्तियारमाथि थप प्रश्नहरु उठिरहेका छन् । जस्तो कि उसले कयौँ सरकारी कर्मचारी, राजनीतिक पदाधिकारी र विभिन्न संस्थाका उच्च पदस्थहरुलाई सामान्य अनुसन्धान गरेर उजुरी नै तामेलीमा राख्ने गरेको आरोप लागिरहेको छ । कतिपय ट्रेड युनियनका नेताहरु नै अख्तियारका पदाधिकारीकहाँ पुगेर मुद्दा मिलाइदिएका विवरण र प्रसंगहरु पनि खुला चर्चाका विषय भएका छन् । अब यस्ता तामेलीमाथि पनि छानबिन गर्नुपर्ने भएको छ । र तामेली जगाउनुपर्नेछ ।

जस्तो कि कतिपय कर्मचारीको वैध आम्दानी निकै सीमित देखिन्छ । तर परिवारको आर्थिक तडकभडक र खर्च हेर्ने हो भने देशका अर्बपति विनोद चौधरीलाई पनि माथ गर्ने खालको छ । ती कर्मचारीहरुले छोराछोरीलाई विदेशका महँगा कलेजहरुमा ठूलो शुल्क तिरेर पढाइरहेका छन् । महँगा-महँगा ग्याजेटहरु किनिदिएका छन् । उनीहरुको यो जीवनशैली हेर्ने हो भने अमेरिका-अस्ट्रेलियाका रैथानेहरु समेत छक्क परेको देखिन्छ ।

कतिसम्म भने सामुली सरकारी कर्मचारीले पनि आफ्ना सन्तानलाई विदेशका महँगा सहरमा नेपालकै पैसामा बसालेका छन् । वर्षमा दुईचारपटक नै नेपाल आउनेजाने व्यवस्था गरिदिएका छन् । त्यसमाथि सिंगो परिवार नै सम्बन्धित देशमा गएर मस्तसँग घुमेका छन् । हीरामोतीजडित गहना र लाखौँ पर्ने साडीहरु फेरेर फोटा खिचाएका छन् ।

अनि तिनीहरुको आम्दानीको स्रोत खोज्नु नपर्ने ? तिनीहरुमाथिको अनुसन्धान एकाएक कसरी रोकियो ? कसरी उजुरी तामेलीमा पर्‍यो ? कि अख्तियारको काम पनि अहिले सुनपानी छर्किने भएको हो ? त्यसकारण अख्तियारले हालसम्म गरेका तामेलीसम्बन्धी निर्णयका फाइल पुनः खोल्नुपर्छ र भ्रष्टाचार मुद्दा अदालतमा पेस गर्नुपर्छ । उक्त छानबिन नसकिएपछि सम्बन्धित व्यक्तिका बैंक खाता, घरजग्गा र राहदानी रोक्का राख्नुपर्छ । अनि मात्र मुलुकले सुशासनको प्रत्याभूति पाउँछ । अनि मात्र मुलुकले बालेन सरकार आएको पनि अनुभूति गर्न पाउँछ । होइन भने तिनै भ्रष्टहरुले रास्वपाको सदस्यता लिएर सुशासनको पाठ पढाउनेछन् र उस्तै परे अख्तियारको नियुक्ति खानेछन् ।तामेलीमा राखेका फाइलहरू खोल्नको लागि बालेन सरकारले अख्तियार लाई निर्देशन दिएको बुझिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)