बढुवा भएको केही दिनमै दुर्घटनामा परे वरिष्ठ सई यादव, उपचारकै क्रममा मृत्यु
kalakarmi.com · Wed Jun 24 04:30:40 GMT 2026

सुनसरी- नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) लालुकुमार यादवको सुनसरीमा भएको सवारी दुर्घटनामा मृत्यु भएको छ भने उनकी पत्नी रामपरी यादव घाइते भएकी छन् ।
मंगलवार दिउँसो करिब १२ बजे बर्जू गाउँपालिका-६ स्थित नरह चोकमा भएको दुर्घटनामा प्रदेश १-०२-००२ च ६२५२ नम्बरको विद्युतीय कार र प्रदेश १–०१–००३ प २६१२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक यादवलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम लगिएको थियो। उपचारकै क्रममा दिउँसो ४:१६ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार उनकी पत्नी रामपरी यादव घाइते भएकी छन् । उनको दाहिने खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । मृतक यादव सप्तरीको विष्णुपुर गाउँपालिका–१ निवासी हुन् । उनी हालै सईबाट वरिष्ठ सईमा बढुवा भई जिल्ला प्रहरी कार्यालय सिराहामा सरुवा भएका थिए । सिराहामा हाजिर हुन जाने क्रममा उनी दुर्घटनामा परेका हुन् ।
दुर्घटनामा संलग्न कार मोरङको कटहरी गाउँपालिका–३ निवासी रेडियोलोजिस्ट डा। राजेन्द्र चौधरीले चलाएका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । डा।चौधरी नेपाल मेडिकल एसोसिएसन विराटनगर शाखाका अध्यक्षसमेत हुन् । प्रहरीका अनुसार घटनाको कारणबारे थप अनुसन्धान जारी छ । प्रत्यक्षदर्शीहरूले कार तीव्र गतिमा रहेको बताएका छन् । दुर्घटनापछि मोटरसाइकलमा आगलागीसमेत भएको थियो, जसलाई स्थानीयवासीको सहयोगमा तत्काल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)