सत्ता, शक्ति र सम्पत्तिबाट डिल्लीबजार कारागारसम्म: एकै जेलमा थुप्रिए देशका चर्चित ‘पावर सेन्टर’हरू
barnanmedia.com · Wed Jun 24 04:36:44 GMT 2026

काठमाडौं । कुनै समय सरकार, प्रशासन र विभिन्न शक्तिकेन्द्रमा प्रभाव जमाएका चर्चित व्यक्तिहरू अहिले डिल्लीबजार कारागारमा छन्। छायाँ सरकार चलाउने हैसियत बनाएका भनिएका दीपक भट्टदेखि सूचना प्रविधि क्षेत्रका प्रभावशाली पात्र विकल पौडेलसम्म यतिबेला यही कारागारमा थुनिएका छन्।
बुधबार बिचौलिया भनिएका दीपक भट्ट र सुलभ अग्रवाल सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान भएका हुन्। विशेष अदालतले अनुसन्धान र सुनुवाइ नसकिँदासम्म उनीहरूलाई थुनामै राख्न आदेश दिएको हो।
यसअघि नै नागरिक उड्डयन क्षेत्रका पूर्वप्रमुख प्रदीप अधिकारी, सूचना प्रविधि क्षेत्रका विकल पौडेल र सुनिल पौडेल तथा सिभिल सहकारीका पूर्वअध्यक्ष एवं पूर्वसांसद इच्छाराज तामाङ पनि यही कारागारमा छन्। हालै पूर्वमन्त्री राजकुमार गुप्ता र दीपक मनाङे भने रिहा भइसकेका छन्।
दीपक भट्टमाथि सम्पत्ति शुद्धीकरणसँगै बिमा, धितोपत्र र बैंकिङ कसुरका मुद्दा दायर भएका छन् भने अन्य विषयमा समेत अनुसन्धान जारी रहेको बताइएको छ। एक समय राजनीतिक शक्ति सन्तुलनमा समेत प्रभाव राख्ने व्यक्तिका रूपमा चिनिएका भट्ट सरकार परिवर्तनसँगै कानुनी घेरामा परेका हुन्।
त्यस्तै, नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारीविरुद्ध पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र नलिञ्चोक हेलिप्याड निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दाहरू अदालतमा विचाराधीन छन्।
सूचना प्रविधि क्षेत्रमा प्रभावशाली मानिएका विकल र सुनिल पौडेल डेढ वर्षभन्दा बढी समयदेखि कारागारमा छन्। उनीहरूमाथि विभिन्न आर्थिक अनियमितता र भ्रष्टाचारसम्बन्धी आधा दर्जनभन्दा बढी मुद्दा दायर भएका छन्, जसमध्ये केहीमा फैसला समेत भइसकेको छ।
चार वर्षदेखि डिल्लीबजार कारागारमा रहेका इच्छाराज तामाङ सहकारी बचतकर्ताको रकम हिनामिनासम्बन्धी मुद्दामा जेल जीवन बिताइरहेका छन्। यस्तै, बलात्कार मुद्दामा पक्राउ परेका पूर्वप्रदेश प्रमुख राजेश अहिराज पनि यही कारागारमा छन्।
एक समय राज्यका विभिन्न क्षेत्रका ‘पावर सेन्टर’ मानिएका व्यक्तिहरू एउटै कारागारमा पुगेपछि डिल्लीबजार जेल अहिले चर्चित र प्रभावशाली कैदीहरूको केन्द्रजस्तै बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
सुनिल पौडेल
काठमाडौँ