मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गाभिए दस विद्यालय

gorkhapatraonline.com · Wed Jun 24 04:55:16 GMT 2026

गोरखाको सहिद लखन गाउँपालिकाले न्यून विद्यार्थी सङ्ख्या भएका १० वटा विद्यालयलाई समायोजन गरेको छ । गाउँपालिकाले जेठ २२ गते बसेको कार्यपालिका बैठकले विद्यालय समायोजन गर्ने निर्णय गरेको हो । पालिकाको यस कदमलाई शैक्षिक गुणस्तर अभिवृद्धि, स्रोतसाधनको प्रभावकारी व्यवस्थापन तथा विद्यालय सञ्चालन खर्चमा मितव्ययिता ल्याउने उद्देश्य अनुरूप गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख राजेन्द्र खनालले बताउनुभयो । उहाँका अनुसार विद्यार्थी सङ्ख्या अत्यन्तै न्यून भएका विद्यालयलाई नजिकका ठुला विद्यालयमा समायोजन गरिएको हो ।

सहिद लखन–१ बक्राङका लक्ष्मी आधारभूत विद्यालय र इन्द्र आधारभूत विद्यालयलाई महेन्द्र शक्ति माध्यमिक विद्यालयमा गाभिएको छ । यस्तै वडा नम्बर ४ को सहिद सन्देश आधारभूत विद्यालयलाई महारुद्र आधारभूत विद्यालय वडा नम्बर ६ को चन्द्रकला आधारभूत विद्यालयलाई भगवती हिमालय माध्यमिक विद्यालयमा समायोजना गरिएको छ । वडा नम्बर ६ कै दुर्गा आधारभूत विद्यालयलाई वडा नम्बर ५ को जलदेवी माध्यमिक विद्यालयमा, जलकन्या आधारभूत विद्यालयलाई चण्डिका आधारभूत विद्यालयमा र मण्डली आधारभूत विद्यालयलाई हिमालय माध्यमिक विद्यालयमा समायोजन गरिएको छ ।

वडा नम्बर ९ को कालिका अमरज्योति आधारभूत विद्यालय र जलदेवी आधारभूत विद्यालयलाई क्रमशः भीमसेन आधारभूत विद्यालय तथा जनशक्ति माध्यमिक विद्यालयमा गाभिएको छ । वडा नम्बर ८ को दाहाले आधारभूत विद्यालयलाई रामेश्वरी माध्यमिक विद्यालयमा समायोजना गरिएको पालिकाले जनाएको छ ।

प्रारम्भिक शिक्षालाई निरन्तरता दिन समायोजन गरिएका विद्यालयका स्थानमै बालकक्षा सञ्चालन गरिने व्यवस्था मिलाइएको छ । शिक्षा शाखा प्रमुख खनालले भन्नुभयो, “ती विद्यालयमा अब मुख्य विद्यालय अन्तर्गत एकाइका रूपमा सञ्चालन हुने छ ।”

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)