मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

पोस्टर सार्वजनिक गर्दै ‘कार्की साइँला’ ले तोक्यो असोज २ लाई रिलिज डेट

kalakarmi.com · Wed Jun 24 05:11:33 GMT 2026

काठमाडौं- अभिनेता जितु नेपालको मुख्य भूमिका रहेको फिल्म ‘कार्की साइँला’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण पक्षले बुधवार फिल्मको एक आधिकारिक पोस्टर सार्वजनिक गर्दै आगामी असोज २ गतेलाई नयाँ प्रदर्शन मिति तोकेको हो ।

यसअघि आगामी साउन १ गतेबाट प्रदर्शन गर्ने तयारी गरिए पनि वितरकसँगको आपसी छलफलपछि प्रदर्शन मिति असोज २ गतेका लागि सारिएको निर्माण टिमले जनाएको छ । सार्वजनिक गरिएको नयाँ पोस्टरमा अभिनेता जितु नेपाल र अभिनेत्री प्रियना आचार्य (मुन्नी)लाई रोमान्टिक अन्दाजमा प्रस्तुत गरिएको छ। पोस्टरमा देखिएको उनीहरूको प्रेमिल भावले फिल्म प्रेमकथामा आधारित रहेको अनुमान लगाउन सकिन्छ। यद्यपि, फिल्मको मूल कथावस्तु र थप विवरणका लागि भने आगामी टिजर, ट्रेलर वा फिल्मकै प्रतीक्षा गर्नुपर्ने हुन्छ । नामैबाट ‘कार्की साइँला’ नामका एक भरियाको जीवनी र सङ्घर्षको वरिपरि घुम्ने यस फिल्मको छायाङ्कन पूर्वी नेपालका रमणीय स्थलहरू धनकुटा, सुनसरीको बराहक्षेत्र र चतरा लगायतका क्षेत्रमा गरिएको छ ।

राजेन्द्र बस्नेतको निर्देशनमा तयार भएको यस फिल्ममा जितु र प्रियनाका साथै सुशील पोखरेल, बीरेन्द्र सिंह कुशवाह, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई र कमल देवकोटा लगायतका कलाकारको अभिनय देख्न सकिनेछ। कर्णबहादुर फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको यस फिल्मका निर्माता बालकुमार राई हुन् भने कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ताका रूपमा रहेका छन् । त्यस्तै फिल्मको कार्यकारी निर्मातामा अनन्त राई रहेका छन् ।

सबिन अधिकारी र शङ्कर धितालले लेखेको यस फिल्ममा मुख्य सहायक निर्देशकको जिम्मेवारी रोजल थापाले निभाएका छन् । डम्बर राईले छायाङ्कन गरेको फिल्ममा किरण दाहालको द्वन्द्व, दिप्सन लिम्बुको सङ्गीत र सिबी भण्डारीको प्रडक्सन व्यवस्थापन रहेको छ । व्यवसायिक वितरणतर्फ यस चलचित्रलाई काठमाडौं उपत्यकाभित्र काफिया फिल्मस्का तर्फबाट गोविन्द शाहीले र उपत्यकाबाहिर कुबेर फिल्मस्ले बजार व्यवस्थापन गर्ने जिम्मा लिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)

सम्बन्धित विषय