रास्वपाप्रति शंकर पोखरेलको टिप्पणी : ‘सुशासनको नारा दिनेहरू सल्लाहकार–पीएको फौज खडा गर्दैछन्’
onlinekhabar.com · Wed Jun 24 05:46:33 GMT 2026

१० असार, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै निर्वाचनका बेला गरेको मितव्ययिता र सुशासनको प्रतिबद्धता विपरीत व्यवहार गरेको आरोप लगाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत पोखरेलले नयाँ शक्तिका रूपमा उदाएको दल सत्तामा पुगेपछि सल्लाहकार र व्यक्तिगत सहायक (पीए) हरूको ठूलो समूह खडा गरेको भन्दै आलोचना गरेका हुन् ।
उनले निर्वाचनका बेला राज्यकोषको दोहन रोक्ने, राज्यका निकायलाई राजनीतिक प्रभावबाट मुक्त गर्ने तथा सुशासन कायम गर्ने प्रतिबद्धता जनाएर जनताको मत प्राप्त गरे पनि व्यवहारमा त्यसको उल्टो भइरहेको दाबी गरेका छन् ।
पोखरेलले हरेक मन्त्रालयमा समानान्तर शक्तिकेन्द्र निर्माण गर्न कार्यकर्ता भर्ती गर्ने प्रवृत्ति देखिएको आरोप लगाउँदै परिवर्तन र सुशासनको आशामा रास्वपालाई मत दिएका नागरिकले अहिले कस्तो महसुस गरिरहेका होलान् भन्ने प्रश्न गरेका छन् ।
पोखरेलले भनेका छन्, ‘आम जनताको भरोसामाथिको योभन्दा ठूलो भद्दा मजाक अर्को के हुन सक्छ ?’ पोखरेलले स्वेच्छाचारी व्यवहारले जनतालाई निराश नबनाउन र निर्वाचनका बेला गरेका वाचातर्फ फर्किन आग्रह गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ