मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लो–घेकर दामोदरकुण्डले विद्यार्थीलाई रोजेको विषय पढाउने

gorkhapatraonline.com · Wed Jun 24 05:55:36 GMT 2026

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गर्ने सबै विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्न रोजेको विषयमा पूर्ण छात्रवृति प्रदान गर्ने भएको छ ।

गाउँपालिकाको वडा ३ घिलिङस्थित श्री जनजोति माविबाट यसबर्ष पहिलो पटक एसईईमा सहभागी भई उत्तीर्ण हुने विद्यार्थीलाई विज्ञान विषयसहित साधारण तथा प्राविधिक धारतर्फ विद्यार्थीले शिक्षण संस्थामा बुझाउनु पर्ने शुल्क शतप्रतिशत गाउँपालिकाले उपलब्ध गराउने प्रमुख प्रशासकीय अधिकृत सरोज उपाध्यायले बताउनुभयो ।

उपाध्यायले भन्नुभयो, ‘‘विद्यार्थीले रोजेको विषयमा गाउँपालिकाले लगानी गर्नेछ, शैक्षिक प्रोत्साहनका अन्य कार्यक्रमहरू समेत छन् ।’’ कुल १ सय १४ जना विद्यार्थी रहेको विद्यालयमा कक्षा १० मा ७ जना अध्ययनरत छन् । गाउँबाट पठनपाठनका लागि जिल्ला बाहिर जानेलाई समेत यो सहयोगले रोक्न सघाउने प्रमुख प्रशासकीय अधिकृत उपाध्यायको भनाइ छ ।

गाउँपालिकाले विद्यार्थी प्रोत्साहनसहित छात्रवृत्ति, भौतिक संरचना, घुम्ती विद्यालय लगायत विभिन्न कार्यक्रमलाई प्राथमिकतामा राखेर शिक्षा नीति निर्माण गर्ने अध्यक्ष लोप्साङ छोम्पेल विष्टले बताउनुभयो ।

खर्च अभावमा जिल्ला बाहिर गएर शैक्षिक भविस्य बनाउन चाहने विद्यार्थीलाई उच्च शिक्षाबाट बन्चित हुन नदिने गाउँपालिकाको निर्णय उत्कृष्ट रहेको विद्यालयका प्रधानध्यापक ङिमा ठिने गुरूङले बताउनुभयो । प्रअ गुरूङ भन्नुहुन्छ, ‘‘अब जिल्ला बाहिरबाट समेत पढ्न आउने सम्भावना हुन्छ, धेरै विद्यार्थीलाई ठुलो राहत मिल्ने छ ।’’

विद्यालयबाट उत्तीर्ण भएपछि जिल्लाबाहिर अध्ययन गर्ने विद्यार्थीलाई हुने आर्थिक तथा अन्य प्राविधिक कठिनाइ बारेमा समेत शिक्षा समितिमार्फत जानकारी गराउने प्रअ गुरूङको भनाइ छ । उपल्लो मुस्ताङमा श्री जनज्योति माविसहित लोमान्थाङ गाउँपालिकाको छोसेरमा दिब्यदिप माविबाट साधारणतर्फ एक जना मात्रै छात्रा परीक्षामा सहभागी भएर उत्तीर्ण हुनुभएको थियो ।

उपल्लो मुस्ताङमा आवासीय सुविधाले बाहिरी जिल्लाबाट समेत विपन्न विद्यार्थी अध्ययनका लागि जाने गर्दछन् । हरेक बर्ष कात्तिकदेखि फागुन महिनासम्म विद्यालयहरूले जिल्ला बाहिर घुम्ती विद्यालय सञ्चालन गर्ने गरेका छन् । गाउँपालिकाले हरेक महिना गाउँपालिका अध्यक्ष विद्यालयमा पुग्न अध्यक्षसँग विद्यार्थी कार्यक्रम, चराङ आधारभुत विद्यालयलाई ५० हजार रूपियाँ, जाडोयाममा जिल्ला बाहिर सञ्चालन हुने घुम्ती विद्यालयका लागि २६ लाख रूपियाँ बजेट रहेको छ ।

आर्थिक बर्ष २०८३–८४ का लागि ३४ करोड, ६८ लाख १६ हजार रूपिँयाको बजेट प्रस्तुत गर्नुभएको थियो । चालुतर्फ १३ करोड ६९ लाख ७३ हजार रुपियाँ, पूँजीगततर्फ २० करोड ३६ लाख ९१ हजार रुपियाँ रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)

सम्बन्धित विषय