मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

hamrakura.com · Sun May 31 00:00:00 GMT 2026

काठमाडौँ । काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा सिसी क्यामरा जडान गरिएको छ। यसका साथै बसको टिकट पनि अनलाइनमार्फत काट्न सकिने व्यवस्था गरिएको हो।

सरकारले सबै सार्वजनिक सवारीसाधनमा अनिवार्य रूपमा जिपिएस प्रणाली र सिसी क्यामरा जडान गर्ने तयारी गरिरहेको छ। यही तयारीका बिच पूर्व यातायात व्यवस्थापन प्रालिले भने काठमाडौँको नयाँ बसपार्कबाट पूर्वतर्फ सञ्चालन हुने सबै सवारीसाधनमा जिपिएस प्रणाली र सिसी क्यामरा जडान गरिसकेको छ। प्रालिका अध्यक्ष रजन रोक्काले नयाँ बसपार्कबाट पूर्वका विभिन्न स्थानमा चल्ने ८१ सार्वजनिक सवारीसाधनमा जिपिएस प्रणाली र सिसी क्यामरा जडान गरिएको जानकारी दिनुभयो। काठमाडौँबाट पूर्व सञ्चालन हुने सार्वजनिक सवारीसाधनलाई विसं २०८० साउनदेखि एउटै कम्पनीमा आबद्ध गराएर सञ्चालन गरिँदै आइएको छ।

उक्त कम्पनीमार्फत हाल तेह्रथुम, ताप्लेजुङ, खाँदबारी, काकँडभिट्टा, भद्रपुर, धरान, विराटनगर, मधुमल्ला, गौरीगञ्ज, बनियानी, गाईघाट, इलाम, पशुपतिनगर, कटारी, जनकपुर, राजविराज, वीरगञ्ज लगायतका स्थानमा सार्वजनिक सवारीसाधन सञ्चालन हुँदै आएका छन्।

कम्पनीका सञ्चालक राजेन्द्रबहादुर थापाले सरकारले अगाडि सारेको कार्ययोजनालाई पूर्व यातायात व्यवस्थापन प्रालिले कार्यान्वयनमा ल्याएको बताउनुभयो। उहाँले अब यथाशीघ्र आफ्नो कम्पनीको बसमा ‘लगेज ट्याग’ समेत लागू गरिने जानकारी दिनुभयो। उहाँका अनुसार पूर्व क्षेत्रमा जाने यात्रुहरूको सहजताका लागि प्रालिले ‘अनलाइन टिकट’ प्रणालीसमेत पूर्ण रूपमा लागू गरिसकेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)