मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाम्का बजारमा खानेपानीको हाहाकार

gorkhapatraonline.com · Wed Jun 24 06:29:20 GMT 2026

बाजुराको बुढीगङ्गा नगरपालिका–६ स्थित बाम्का बजारमा खानेपानीको अभाव चुलिएको छ। बजारवासीले प्रयोग गर्दै आएको मुख्य मुहान सुकेपछि यहाँ खानेपानीको हाहाकार भएको हो।

बजारमाथि रहेको सानो मुहानबाट यहाँका व्यापारी तथा स्थानीयले खानेपानीको आवश्यकता पूरा गर्दै आएका थिए। असार लागेसँगै खडेरीका कारण उक्त मुहान सुकेपछि बजारमा खानेपानीको सङ्कट उत्पन्न भएको स्थानीयले बताएका छन्।

बाम्का बजारमा करिब १३० वटा पसल रहेका छन् भने यहाँको जनसङ्ख्या झण्डै ५५८ रहेको छ। मुहान सुकेपछि स्थानीय तथा व्यापारीलाई दैनिक उपभोगका लागि समेत पानीको अभाव हुन थालेको छ।

बाम्का बजारका व्यापारी डम्मर साउँदले बजारमाथिको मुहानबाट ल्याइएको पानीका लागि एक धारा निर्माण गरिएको भए पनि खडेरीका कारण मुहान नै सुकेपछि खानेपानीको समस्या गम्भीर बनेको बताउनुभयो।

“बजारमा दैनिक धेरै ग्राहकको आवतजावत हुन्छ। प्यास लागेका ग्राहकलाई पानी खुवाउन खोज्दा पनि पसलमा पानी छैन,” उहाँले भन्नुभयो।

साउँदका अनुसार खानेपानी व्यवस्थापनका लागि विभिन्न निकाय र जनप्रतिनिधिसँग पटक–पटक पहल गरिए पनि हालसम्म समस्या समाधान हुन सकेको छैन।

२०६५ सालमा स्थापना भएको बाम्का बजार बाजुराकै प्रमुख व्यापारिक केन्द्रमध्ये एक मानिन्छ। २०८२ जेठ २३ गते भएको भीषण आगलागीले बजारमा ठुलो धनमालको क्षति पुर्‍याएको थियो। आगलागीपछि विभिन्न निकाय र सहयोगी संस्थाको सहयोगमा बजारको पुनर्निर्माण तथा व्यवस्थापनमा सुधार भए पनि खानेपानी समस्या भने यथावत् रहेको बाम्का बजार व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र गिरीले बताउनुभयो।

“यो बजार तीन पालिकाको मुख्य व्यापारिक केन्द्र हो। यहाँ दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्री खरिद गर्न ठुलो सङ्ख्यामा मानिस आउँछन्। तर ग्राहक आएपछि पिउन पानी छैन, शौचालय सञ्चालन गर्न समेत पानीको अभाव छ,” उहाँले भन्नुभयो।

गिरीका अनुसार बजारको सबैभन्दा ठुलो समस्या नै खानेपानी बनेको छ। हाल स्थानीयले पिउने र नुहाउने पानीका लागि बजारमुनि रहेको बुढीगङ्गा खोलामा जानुपर्ने अवस्था छ।

बुढीगङ्गा नगरपालिकाले भने खानेपानी समस्या समाधानका लागि लिफ्टिङ प्रणालीमार्फत बुढीगङ्गा खोलाबाट पानी ल्याउने योजना अघि बढाएको जनाएको छ। यसका लागि प्रदेश सरकारले गत वर्ष १० लाख रुपियाँ र चालु वर्ष पनि १० लाख रुपियाँ विनियोजन गरेको छ। साथै, रिरास परियोजनासँग समेत समन्वय भइरहेको नगरपालिकाले जनाएको छ।

नगर प्रमुख रामबहादुर बानियाँका अनुसार विगतदेखि नै बाम्कामा खानेपानीको अभाव रहँदै आएको छ। विभिन्न स्थानमा मुहान खोजिए पनि पर्याप्त स्रोत फेला नपरेपछि बुढीगङ्गा खोलाबाट लिफ्टिङ प्रणालीमार्फत पानी ल्याउने योजना बनाइएको हो।

“साउनदेखि काम सुरु गर्ने तयारी छ। योजना सम्पन्न भएपछि बाम्का बजारका प्रत्येक पसलमा खानेपानीको धारा जडान गरिनेछ,” नगर प्रमुख बानियाँले बताउनुभयो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)