तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बैंकहरुबाट ७० अर्ब निक्षेप तान्दै
corporatenepal.com · Wed Jun 24 06:37:49 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरूबाट ७० अर्ब रूपियाँ निक्षेप तान्ने भएको छ । आज मध्यान्ह ३ बजे बोलकबोल मार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट सो बराबरको पैसा तान्ने भएको हो ।
राष्ट्र बैंकले ७९ दिनका लागि सो बराबरको निक्षेप तान्न लागेको हो । यसमा वाणिज्य, विकास र वित्त कम्पनी सहभागी हुन सक्नेछन् । उनीहरुले बोलकबोलमा ब्याजदर प्रस्ताव गर्नुपर्ने हुन्छ ।
Advertisement
बैंकहरुले ब्याजदरमा बहुबोलकबोल पनि गर्न सक्नेछन् । त्यसमा सबै भन्दा कम ब्याजदर प्रस्ताव गर्नेलाई प्राथमिकतामा राखिनेछ ।
अहिले बैँकहरूमा अधिक तरलता रहेको छ । त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले पटक पटक बोलकबोलबाट पैसा तान्दै आएको छ । सोही क्रममा आज राष्ट्र बैंकले ७० अर्ब रूपियाँ निक्षेप बोलकबोल गर्न लागेको हो ।
आजको बोलकबोलमा बैंकहरुले घटीमा १० करोड रूपियाँ र बढीमा पाँच करोडले भाग गर्दा निशेष भाग जाने गरी कुल आह्वान रकमसम्म प्रस्ताव गर्न सक्नेछन् । बैंकहरूले यसरी राष्ट्र बैंकमा राखेको निक्षेप यस बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा पनि धितोको रुपमा प्रयोग गर्न सक्नेछन् ।
७९ दिन अर्थात् आगामी भदौ २६ गते बैंकहरुलाई सावाँ र ब्याज भुक्तानी गरिनेछ ।
कर्जाको माग न्यून हुँदा अहिले बैंकहरुमा पैसा थुप्रिएको छ । त्यो अवस्थामा बैंकहरुलाई तरलता व्यवस्थापन गर्न यो उचित विकल्प हुने देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)
काठमाडौँ