मनसुन सुरु हुँदा उठ्ने चुरे संरक्षणका कुरा
rajdhanidaily.com · Fri Jun 17 01:03:35 GMT 2022
यस वर्ष पनि मनसुन सुरु हुँदा नै चुरे संरक्षणका कुरा उठेपछि कतै चुरे संरक्षणको मुद्दा मौसमी त होइन भन्ने आशंका आमजनताबीच उठ्न थालेको छ । मनसुन सुरु भइसकेका बेलामा अहिले पनि राष्ट्रपतिदेखि पूर्वप्रधानमन्त्रीसहित धेरैले चुरे क्षेत्रको संरक्षणप्रति चिन्ता तथा चासो व्यक्त गर्न थालेका छन् । नेपालमा उखान पनि छ, रातको जाडोमा छेपाराले ‘उज्यालो भएपछि कपडा खोज्ने र आगो बाल्ने सपना’ देख्दै बिताए पनि उज्यालो भएर घाम लागेपछि आरामले निदाएर घमाइलो दिन बिताउने गर्छ । नेपालमा पनि चुरे संरक्षणका कुरा यस्तै हुँदै आएको छ । वास्तवमा चुरे क्षेत्रको कमजोर भूबनोट, त्यसमाथि बर्सेनि हुने वन फडानी र मनसुन सुरु भएपछि हुने पहिरो तथा भूक्षय निकै संवेदनशील रहेको छ । चुरे आफंैमा तराईवासीका लागि जनजीविकाको स्रोत पनि हो । यो तराईवासीका प्राण पनि हो । यहीनेर रहेका पानीका मूल र ससाना खोल्सी तथा तालतलैया तराईवासीका लागि खानेपानी आपूर्तिका निर्विकल्प स्रोत हुन् । यसका साथै, यहाँ रहेका जैविक विविधता चुरेको अर्को अनुपम उपहार हो । तर, चुरे संरक्षण अझैं पनि आममानिसको चासोको विषय हुन सकिरहेको छैन ।
चुरे उत्खनन जारी छ । चुरेको गिट्टी बालुवा, वनपैदावार तथा जीवको संरक्षण होइन, निरन्तर दोहन भइरहेको छ । भूबनोट र वनस्पतिका हिसाबले चुरे आफैंमा हिमालय पर्वत शृंखलाको सबैभन्दा दक्षिणमा रहेको अन्तिम र कान्छो श्रृंखला हो । यो निकै कच्चा, कमलो र कमजोर प्रकृतिको छ । त्यसैले यसको व्यवस्थापनका लागि बेलैमा गुरुयोजना निर्माण र कार्यान्वयन जरुरी हुन गएको छ । देशको १३ प्रतिशत भूभाग ओगटेको यो क्षेत्र सिंगो तराइको शीरको रुपमा रहेको छ । पूर्व–पश्चिम लमतन्न परेर तन्कँदा यसले पश्चिम कञ्चनपुरदेखि पूर्वमेचीसम्मका ३७ वटा जिल्ला छिचोलेको छ । पानी, वनपैदावार र जैविक विविधताको अनुपम स्रोतका रूपमा रहेको चुरेको दोहन पछिल्लो समयमा निकै चर्को हुँदै गएको छ । हिमाल तथा महाभारतबाट दक्षिणतिर बग्ने ठूला नदीको निरन्तर जोडदार पेलाइ पनि यो संवेदनशील इलाकामा पर्न गएको छ । नेपालको भूबनोटका हिसाबले उपल्लो तटीय इलाकामा हुने प्राकृतिक सन्तुलन वा असन्तुलनले तल्लो तटीय इलाकामा निकै प्रभव पार्ने गरिरहेकाले पनि चुरे पछिल्लो समयमा निकै संवेदनशील हुन पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)