गाजामा बालबालिकालाई निशाना बनाएर इजरायलले नरसंहार गरिरहेको आरोप
baahrakhari.com · Wed Jun 24 07:20:59 GMT 2026

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)को एक अनुसन्धान आयोगले इजरायलले जानीजानी प्यालेस्टिनी बालबालिकाहरूलाई निशाना बनाएर गाजा पट्टीमा नरसंहार गरिरहेको आरोप लगाएको छ । आयोगले कब्जा गरिएको वेस्ट बैंकमा पनि युद्ध अपराधहरू भइरहेको निष्कर्ष निकालेको छ ।
आयोगले सार्वजनिक गरेको नयाँ प्रतिवेदनमा इजरायली अधिकारीहरू र सुरक्षा बलहरूले लाखौँ प्यालेस्टिनी बालबालिकाको मृत्यु हुने तथा उनीहरूलाई गम्भीर शारीरिक र मानसिक क्षति पुग्ने कार्यहरू जानीजानी गरेको आरोप लगाइएको छ । प्रतिवेदनका अनुसार गत अक्टोबरमा भएको युद्धविरामपछि पनि यस्ता घटनाहरू जारी छन् ।
आयोगले यी कार्यहरूलाई बालबालिकाहरूलाई निशाना बनाएर गाजामा प्यालेस्टिनीहरूको भविष्य नष्ट गर्ने सुनियोजित रणनीतिको हिस्सा भन्ने निष्कर्षमा पुग्न पर्याप्त र विश्वसनीय आधारहरू रहेको जनाएको छ ।
इजरायलको विदेश मन्त्रालयले आयोगको प्रतिवेदनलाई पूर्ण रूपमा अस्वीकार गर्दै यसलाई भ्रामक निन्दा तथा अघिल्ला प्रतिवेदनहरूजस्तै आपत्तिजनक प्रचारबाजी (प्रोपोगान्डा)को संज्ञा दिएको छ ।
७ अक्टोबर २०२३ मा हमासको नेतृत्वमा दक्षिणी इजरायलमा भएको आक्रमणको जवाफमा इजरायली सेनाले गाजामा सैन्य अभियान सुरु गरेको थियो । त्यसयता गाजामा इजरायली आक्रमणका कारण कम्तीमा ७३ हजार ३५ जनाको ज्यान गइसकेको छ । ती मध्ये २१ हजार २८० भन्दा बढी बालबालिका रहेका छन् । यो तथ्यांक हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयको हो, जसलाई संयुक्त राष्ट्रसंघले विश्वसनीय तथ्यांक मान्छ ।
कब्जा गरिएको प्यालेस्टिनी क्षेत्र तथा इजरायलसम्बन्धी स्वतन्त्र अन्तर्राष्ट्रिय अनुसन्धान आयोगको स्थापना सन् २०२१ मा यूएन मानव अधिकार परिषद्ले अन्तर्राष्ट्रिय मानवीय तथा मानव अधिकार कानुन उल्लंघनसम्बन्धी अनुसन्धान गर्न गरेको थियो ।
गत सेप्टेम्बरमा पनि आयोगले इजरायलमाथि गाजामा प्यालेस्टिनीहरूविरुद्ध नरसंहार गरेको आरोप लगाएको थियो ।
यसअघि आयोगले हमास तथा अन्य प्यालेस्टिनी सशस्त्र समूहहरूले ७ अक्टोबर २०२३ मा युद्ध अपराध र अन्तर्राष्ट्रिय कानुनका अन्य गम्भीर उल्लंघन गरेको तथा इजरायली सुरक्षा बलहरूले गाजामा मानवताविरुद्धका अपराध र युद्ध अपराध गरेको निष्कर्ष निकालेको थियो ।
गत अक्टोबरमा इजरायल र हमास युद्धविरामका लागि सहमत भएका थिए । त्यसयता दुवै पक्षले एकअर्कामाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै आएका छन् । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार त्यसयता २६५ बालबालिकासहित एक हजार २० भन्दा बढी प्यालेस्टिनीहरू मारिएका छन् ।
मंगलबार अनुसन्धान आयोगले प्रतिवेदनसँगै जारी गरेको विज्ञप्तिमा गाजामा इजरायली सैन्य कारबाहीको तीव्रता र व्यवस्थित प्रकृति अझै जारी रहेको तथा त्यसका कारण प्यालेस्टिनी बालबालिकाहरूले मृत्यु, चोटपटक र मानसिक आघात भोग्नुपरेको उल्लेख गरेको छ ।
आयोगका अध्यक्ष तथा भारतीय न्यायविद् श्रीनिवास मुरलीधरले भने, “बालबालिकालाई निशाना बनाएर इजरायलले प्यालेस्टिनी जनताको अस्तित्व र आफ्नो भविष्य निर्धारण गर्ने क्षमतामाथि नै प्रहार गरिरहेको छ ।” बीबीसी
#नरसंहार
#गाजामा बालबालिका
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ
इजरायल