राज्यका तीनै अंगको दुरुपयोग गरेर ममाथि राजनीतिक प्रतिशोध साधियो : रवि लामिछाने
nagariknews.nagariknetwork.com · Wed Jun 24 07:00:36 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूविरुद्ध राज्यका तीनै अंगको दुरुपयोग गरेर राजनीतिक प्रतिशोध साधिएको बताएका छन्।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै लामिछानेले सहकारी प्रकरणलाई आधार बनाएर आफू र पार्टीमाथि योजनाबद्ध रूपमा राजनीतिक आक्रमण गरिएको दाबी गरे। उनले नेपाली कांग्रेस नेतृत्वको सरकार बनेपछि रास्वपाविरुद्ध खुला राजनीतिक प्रतिशोध सुरु भएको बताए।
‘रास्वपामाथि नाङ्गो राजनीतिक प्रतिशोध सुरु भयो। त्यसका लागि संस्थागत संयन्त्र प्रयोग गरियो,’ उनले भने, ‘संसदीय विशेष समितिको निष्कर्षविपरीत सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणजस्ता अनुचित आरोप लगाइए।’
लामिछानेले आफूविरुद्ध एकपछि अर्को मुद्दा थपिएको, अभियोजन विस्तार गरिएको तथा रातारात जेल स्थानान्तरण गरिएको भन्दै आफूलाई ‘अन्तिम इच्छा’ समेत सोधिएको बताए।
‘एकपछि अर्को नयाँ मुद्दा थपियो, अभियोजन विस्तार गरियो। रातारात जेल सारियो। अन्तिम इच्छा समेत सोधियो,’ उनले भने, ‘यो कुनै सामान्य प्रक्रिया थिएन, राजनीतिक प्रतिशोधको पराकाष्ठा थियो।’
उनले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका तीनै अंगको दुरुपयोग गरेर आफूलाई निशाना बनाइएको भन्दै व्यवस्थापिकातर्फ संसदीय छानबिन समितिको निष्कर्षलाई राजनीतिक हतियार बनाइएको, कार्यपालिकालाई अत्याचारको कारखाना बनाइएको र न्यायपालिकाको समेत दुरुपयोग भएको बताए।
‘न्यायपालिकाको समेत दुरुपयोग भयो,’ उनले भने, ‘म र रास्वपाविरुद्ध राज्यका तीनै अंग प्रयोग गरेर सुनियोजित राजनीतिक हमला गरियो।’
उनले आफू र पार्टीमाथि भएको घटनालाई संगठित राजनीतिक अपराध भएको भन्दै त्यसमा संलग्न राजनीतिक पात्रहरू अहिले संसदमा नभएको समेत बताएका छन्।
‘यदि यो राजनीतिक प्रतिशोध थिएन भने किन जनताले त्यसको विरोध गरे ? किन त्यसमा संलग्न धेरै पात्रहरू आज संसदमा दोहोरिन सकेनन् ?’ उनले प्रश्न गर्दै भने, ‘सिङ्गो देशले यो अन्याय भएको महसुस गरेको छ।’
Follow @nagarik_news
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)