मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धनगढी उपमहानगरको बजेट साढे २ अर्ब, पूर्वाधारदेखि रोजगारीसम्म प्राथमिकता

nagariknews.nagariknetwork.com · Wed Jun 24 07:23:02 GMT 2026

धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २ अर्ब ६४ करोडभन्दा बढीको बजेट सार्वजनिक गरेको छ। नगरसभाको १५औँ अधिवेशनमा उपप्रमुख कन्दकला कुमारी रानाले कुल २ अर्ब ६४ करोड ६४ लाख ६४ हजार ४६४ रुपैयाँ बराबरको आय–व्यय विवरण प्रस्तुत गरेकी हुन्।

प्रस्तावित बजेटअनुसार चालु खर्चतर्फ १ अर्ब ४३ करोड ६३ लाख ८७ हजार ७८१ रुपैयाँ विनियोजन गरिएको छ भने पुँजीगत खर्चका लागि १ अर्ब २३ करोड ७६ लाख ६८३ रुपैयाँ छुट्याइएको छ।

बजेट कार्यान्वयनका लागि उपमहानगरले आन्तरिक स्रोतबाट ५५ करोड १० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ। यस्तै, राजस्व बाँडफाँटबाट ६० करोड ४५ लाख, संघीय सरकारबाट १ अर्ब ६ करोड र प्रदेश सरकारबाट १४ करोड २२ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। अपुग रकम चालु आर्थिक वर्षको बचतबाट व्यवस्थापन गरिने जनाइएको छ।

आगामी बजेटले नगर बस सेवाको विस्तारलाई विशेष प्राथमिकता दिएको छ। हाल सञ्चालनमा रहेका रुटबाहेक धनगढी–कनरी–रामपुर–चौमाला, पथरी–बनबेहडा, बेली–जुगेडा तथा घोडसुवा–स्याउले क्षेत्रमा समेत बस सेवा विस्तार गरिने योजना छ।

यसका साथै नगर गौरवका आयोजना, दिगो पूर्वाधार विकास, सडक बत्ती व्यवस्थापन, रात्रिकालीन पर्यटन, शिक्षा, स्वास्थ्य, खेलकुद, वातावरण संरक्षण र रोजगार सिर्जनालाई बजेटको मुख्य प्राथमिकतामा राखिएको उपमहानगरले जनाएको छ।

उपमहानगरले आगामी वर्ष विकास र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्यसहित बजेट अघि सारेको जनाएको छ।

Follow @nagarik_news

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)