रोटरी क्लब अफ बानेश्वरद्वारा शिवपुरीका बासिन्दाका लागि सामुदायिक स्वास्थ्य शिविर सञ्चालन
ajakoartha.com · Sun May 31 12:07:00 GMT 2026

काठमाडौं- २६ मे– रोटरी क्लब अफ बानेश्वरले सिनामंगलमा रहेको काठमाडौँ मेडिकल कलेजसँगको सहकार्यमा नुवाकोटको शिवपुरी गाउँपालिकास्थित शिवालय प्राथमिक विद्यालयमा सामुदायिक स्वास्थ्य शिविर सफलतापूर्वक सञ्चालन गरेको छ। २५ जनवरी २०२६ मा आयोजित उक्त शिविरबाट ३५० भन्दा बढी सहभागी लाभान्वित भएका थिए।
शिविरमा सामान्य चिकित्सा, सामान्य शल्यचिकित्सा, बालरोग, हाडजोर्नी, प्रसूति तथा स्त्रीरोग, दाँत, आँखा तथा नाक-कान-घाँटी (ENT) सम्बन्धी परामर्श र उपचार सेवा प्रदान गरिएको थियो। साथै ECG, USG तथा प्रयोगशाला परीक्षण सेवासमेत उपलब्ध गराइएको थियो। शिवपुरी गाउँपालिकाका धेरै बासिन्दाको स्वास्थ्य सेवामा पहुँच सीमित भएकाले यो स्वास्थ्य शिविरले उनीहरूलाई आफ्नो स्वास्थ्यबारे जानकारी लिन र उपचार सेवा प्राप्त गर्ने अवसर प्रदान गर्यो।
औषधि कम्पनीहरूले पनि सहयोग गर्दै बिरामीहरूलाई निःशुल्क रूपमा रु. १ लाख १४ हजार बराबरको औषधि वितरण गरेका थिए। यसले ग्रामीण नेपालमा उपचार र रोग पहिचानबीच आर्थिक कारणले सिर्जना हुने बाधा कम गर्न महत्वपूर्ण भूमिका खेलेको थियो। औषधि प्राप्त गरेपछि सहभागीहरूको अनुहारमा देखिएको राहतले सहज स्वास्थ्य सेवाको महत्वलाई झल्काएको थियो।
स्थानीय समुदायबाट शिविरप्रति अत्यन्त उत्साहजनक प्रतिक्रिया प्राप्त भएको थियो। धेरै सहभागीका लागि यो विशेषज्ञ चिकित्सकसँगको पहिलो परामर्श थियो भने अधिकांशले महिनौँदेखि, कतिपयले वर्षौँदेखि स्वास्थ्य परीक्षण गराउन सकेका थिएनन्। शिविरले उनीहरूलाई लामो समयदेखि उपचार नपाएका समस्याबारे समाधान खोज्ने अवसर दिएको थियो। सहभागिताको संख्याले नै शिवपुरीजस्ता क्षेत्रमा स्वास्थ्य सेवाको आवश्यकता कति गम्भीर छ भन्ने स्पष्ट देखाएको थियो, जहाँ नजिकको अस्पतालसम्म पुग्न समय र खर्च दुवै चुनौतीपूर्ण हुन सक्छ।
रोटरी क्लब अफ बानेश्वरले विशेषज्ञता र समर्पणका लागि काठमाडौँ मेडिकल कलेजप्रति, कार्यक्रम सञ्चालनमा सहजीकरण गरेकोमा शिवपुरी गाउँपालिकाप्रति, विद्यालय उपलब्ध गराएकोमा शिबालय प्राथमिक विद्यालयप्रति तथा कार्यक्रम सफल बनाउन समय र स्रोत उपलब्ध गराउने सम्पूर्ण औषधि कम्पनी, रोटेरियन तथा स्वयंसेवकहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ।
रोटरी क्लब अफ बानेश्वरको बारेमा:
रोटरी क्लब अफ बानेश्वर विश्वकै सबैभन्दा ठूलो मानवीय सेवा संस्थामध्ये एक रोटरी इन्टरनेसनलको सदस्य संस्था हो। काठमाडौंमा आधारित यस क्लबले समाजका अगुवा, विभिन्न पेशाकर्मी तथा स्वयंसेवकहरूलाई सेवामार्फत दिगो परिवर्तन सिर्जना गर्ने उद्देश्यले एकताबद्ध गरेको छ। “सर्भिस अबोभ सेल्फ” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै क्लबले स्वास्थ्य, शिक्षा, वातावरण तथा सामुदायिक विकासका क्षेत्रमा सक्रिय रूपमा काम गर्दै आएको छ।
सन् २०२५-२०२६ का अध्यक्ष रोटरियन रुपाली सरावगीको नेतृत्वमा क्लबले रोटरी इन्टरनेसनलको विश्वव्यापी नारा “युनाइट फर गुड” अभियानसँग समन्वय गर्दै नेपालभर समुदायको सशक्तिकरण र जीवनस्तर उकास्ने विभिन्न पहलहरू अघि बढाइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)