मधेसमा सर्पदंशका घटना बढ्दै
ratopati.com · Wed Jun 24 07:45:40 GMT 2026

जनकपुरधाम । मधेस प्रदेशमा अत्यधिक गर्मी बढेसँगै सर्पदंशका घटनामा वृद्धि हुन थालेको छ । खेतबारीमा सर्पको गतिविधि बढ्दा सर्वसाधारण दैनिक रूपमा सर्पदंशको जोखिममा परिरहेका छन् ।
मधेस प्रदेशका विभिन्न जिल्लामा केही दिनदेखि अत्यधिक गर्मीका कारण विषरहित तथा विषालु प्रजातिका सर्पहरू देखा पर्न थालेका छन् ।
सिराहामा चैतमा १५ जना, वैशाखमा २६ जना र जेठमा २५ जना सर्प टोकाइबाट उपचारका लागि सिराहा अस्पताल पुगेका र उनीहरु निको भएर घर फर्किएको प्रादेशिक अस्पताल सिराहाका प्रमुख डाक्टर सुनिलप्रसाद कुशवाहाले बताए । उनका अनुसार पछिल्लो समय दैनिक दुईदेखि तीन जना सर्प टोकाइका बिरामी अस्पतालमा आउने गरेका छन् ।
त्यसैगरी जनकपुरधाम प्रादेशिक अस्पतालमा चैतमा १००, वैशाखमा १२० र जेठमा १४७ जना सर्प टोकाइका बिरामी आएको इमर्जेन्सीका इन्चार्ज उज्वलकुमार झाले जानकारी दिए । उनले भने, 'अहिले अन्य अस्पतालबाट रिफर भएर पनि हाम्रो प्रादेशिक अस्पतालमा बिरामी आउने गरेका छन् । सर्प टोकाइका लागि आवश्यक एन्टीभेनम पर्याप्त मात्रामा उपलब्ध छ र पछिल्ला तीन–चार महिनामा कसैको मृत्यु भएको छैन ।'
झाका अनुसार मधेस प्रदेशमा विशेषगरी विषरहित ढोडिया, हरहरा तथा विषालु करेत र गोमन सर्प बढी पाइन्छन् ।
जलेश्वरमा पनि गत वैशाख महिनामा २३ जना सर्पदंशका बिरामी उपचारका लागि अस्पताल पुगेका थिए भने जेठमा त्यो संख्या बढेर ५६ पुगेको प्रादेशिक अस्पताल जलेश्वरका प्रमुख डाक्टर रवि श्रीवास्तवले बताए । महोत्तरीका १० नगरपालिका र पाँच गाउँपालिकामा गर्मी याममा सर्पदंशको जोखिम बढेको उनले बताए ।
अस्पतालमा सीमापारि भारतका विभिन्न स्थानबाट समेत बिरामी उपचारका लागि आउने गरेको अस्पताल प्रमुख श्रीवास्तवले जनाए । सर्पले डसेका बिरामीलाई दिने एन्टीभेनम औषधि पर्याप्त मात्रामा रहेकाले उपचारमा समस्या नरहेको अस्पताल स्रोतले दाबी गरेको छ । तर अस्पतालमा आइसीयु कक्ष नरहेकाले विषालु सर्पले डसेर आउने उच्च जोखिमका बिरामीलाई थप उपचारका लागि अन्यत्र रिफर गर्नुपर्ने बाध्यता रहेको देखिन्छ ।
गर्मीको मौसममा सर्पदंशका घटना बढ्दै गएपछि सर्वसाधारणलाई सतर्कता अपनाउन प्रदेश स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । समयमै अस्पताल पुगेर उपचार गराएमा ज्यान जोगाउन सकिने भएकाले झारफुक वा घरेलु उपचारमा विश्वास नगरी तत्काल स्वास्थ्य संस्थामा पुग्न मन्त्रालयले अनुरोध गरेको छ ।
यता सर्प विज्ञ देवनारायण मण्डलका अनुसार मधेस प्रदेशमा ३६ प्रकारका सर्प पाइन्छन्, जसमध्ये पाँच प्रकारका मात्रै विषालु छन् । उनले सर्पदंशबाट बच्न घर, गोठ तथा बारी–झारी सफा राख्नुपर्ने, सर्पले टोकेपछि तुरुन्त अस्पतालमा पुगेर उपचार गराउनुपर्ने तथा घर वा बारीमा सर्प देखिएमा उद्धार केन्द्रलाई खबर गरेर सर्पलाई सुरक्षित रूपमा उद्धार गराउनुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
मधेस प्रदेश