राष्ट्रिय मनिचेञ्जरको इजाजतपत्र खारेजी प्रक्रिया सुरु, ३५ दिनभित्र दाबी पेश गर्न राष्ट्र बैंकको आग्रह
ajakoartha.com · Wed Jun 24 07:53:00 GMT 2026

काठमाडौं- नेपाल राष्ट्र बैंकको धनगढी कार्यालयले कञ्चनपुरस्थित राष्ट्रिय मनिचेञ्जर प्रा.लि.को मनिचेञ्जर कारोबार इजाजतपत्र खारेज गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ।
राष्ट्र बैंकका अनुसार भीमदत्तनगर–४, महेन्द्रनगरमा रहेको उक्त कम्पनीले नेपाल राष्ट्र बैंकको मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम २२ बमोजिम मनिचेञ्जर कारोबार बन्द गर्न निवेदन दिएको हो।
उक्त विनियमअनुसार कारोबार बन्द गरी इजाजतपत्र खारेज गर्नुपर्ने व्यवस्था रहेकाले राष्ट्र बैंकले यस सम्बन्धमा सार्वजनिक सूचना जारी गरेको जनाएको छ।
राष्ट्र बैंकले राष्ट्रिय मनिचेञ्जर प्रालिसँग कसैको कुनै प्रकारको लेनदेन, दाबी, भुक्तानी लिनु–दिनु बाँकी वा अन्य सरोकार भए सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र धनगढी कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ।
सूचनामा तोकिएको अवधिभित्र प्राप्त हुने दाबी तथा सरोकारका विषयहरूको अध्ययनपछि इजाजतपत्र खारेजी सम्बन्धी प्रक्रिया अगाडि बढाइने जनाइएको छ।
मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम २२ को उपविनियम (२) अनुसार उक्त सूचना सार्वजनिक गरिएको राष्ट्र बैंकले स्पष्ट पारेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)