तीन दिनअघि बालेनको प्रशंसामा लिप्त सीके राउत एकाएक किन बने आक्रोशित ?
nepalpress.com · Wed Jun 24 08:03:30 GMT 2026

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम महाधिवेशन उद्घाटन समारोहमा भाषण गर्दै प्रधानमन्त्री वालेन्द्र शाहको जमेर प्रशंसा गरे । तर, त्यसको तीन दिनपछि नै उनी बालेनमाथि खनिएका छन् ।
रास्वपाले महाधिवेशनबाट प्रदेशसभा खारेज गर्ने राजनीतिक प्रस्ताव पारित गरेपछि राउत एकाएक बालेनसँग आगो भएका हुन् । प्रदेशसभा खारेजीको एजेन्डा अघि सार्नु बालेनको चरम राजनीतिक बेइमानी भएको उनको टिप्पणी छ । अहिलेको सरकारबाट संविधान संशोधन सम्भव नहुने भएकाले तत्काल आत्तिनुपर्ने अवस्था भने नरहेको भन्दै राउतले मन बुझाएका छन् ।
उनले भनेका छन्, ‘सबै पार्टीले आ-आफ्नो राजनैतिक एजेण्डा लिन स्वतन्त्र छन् । कसैले राजतन्त्रको पुनस्र्थापनालाई लिएका छन् भने कसैले प्रदेशको खारेजी । त्यसैले अरू पार्टीले के एजेण्डा बोक्छन् त्यो पार्टीको आन्तरिक कुरा होला । त्यसैगरी कुनै पार्टीले प्रदेश सभा खारेजीको एजेण्डा राख्ने बित्तिकै प्रदेश सभा खारेज हुने होइन, किनकि अहिलेको सरकारबाट संविधान संशोधन हुन सक्दैन । त्यसैले कोही तुरुन्तै आत्तिइहाल्नु पर्ने अवस्था चाहिँ होइन ।’
चुनावका बेला मधेशका नाममा मत माग्ने, अधिकार र पहिचानका वाचा गर्ने तर पछि प्रदेश संरचना नै खारेज गर्ने एजेन्डा अघि सार्नु जनताप्रति धोखा भएको राउतको आरोप छ ।
प्रधानमन्त्री बालेनले चुनावको बेलामा मधेशबाट गरेको बाचाको भिडिओ राख्दै उनले भनेका छन्, ‘भोट माग्ने बेलामा मधेशिया छौँडा बन्ने, कुर्ता गम्छा लगाउने, मधेशी भाषामा सम्बोधन गर्ने, प्रदेशलाई बलियो बनाउँछु र अधिकार माग्न काठमाडौं जानु पर्दैन भन्ने, अनि त्यही वाचाको आधारमा क्लीनस्वीप गर्ने, देशभरिमा झन्डै दुइ-तिहाइ बहुमत ल्याउने, तराई-मधेशको २१ जिल्लाका ७८ सीटमध्ये ७४ सीट जित्ने अनि अहिले आएर प्रदेश सभा खारेज गर्ने एजेण्डा पारित गर्न लगाउनु राजनैतिक बेइमानी हो ।’
प्रधानमन्त्रीले जनतालाई धोखा दिएर खोलो तर्यो लौरो बिर्सियो भन्ने उखानको चरितार्थ गरेको टिप्पणी उनले गरे । प्रदेशसभा खारेज भए प्रदेश केवल प्रशासनिक इकाइमा सीमित हुने भन्दै उनले यस्तो व्यवस्था पुरानो पञ्चायती सोचसँग मिल्दोजुल्दो हुने टिप्पणी पनि गरेका छन् ।
प्रदेश सभाको संरचनामा परिवर्तन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको भूमिकाबारे गरिने बहस पनि उनले अस्वीकार गरेका छन् । उनले कार्यकारी र व्यवस्थापिकाबीच स्पष्ट छुट्टै भूमिका हुनुपर्नेमा जोड दिएका छन् ।
रास्वपाको महाधिवेशन उद्घाटनमा अतिथिका रुपमा सहभागी भएका राउतले बालेनलाई स्मार्ट, डाइनामिक, इन्टेलिजेन्ट आदि संज्ञाहरु दिँदै प्रशंसा गरेका थिए । उनले बालेनको व्यक्तित्वलाई भारतीय अभिनेता देवानन्दसँग तुलना समेत गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
सिके राउत
काठमाडौँ
बालेन शाह