सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्री र मन्त्रीलाई महाधिवेशन लाग्दा काम कारबाही प्रभावित हुँदैन ?
onlinekhabar.com · Wed Jun 24 08:01:42 GMT 2026

१० असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन सुरू भएसँगै सरकारका अधिकांश मन्त्रीहरू चितवनमा छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहसहित मन्त्रीहरूले विगत चार दिनदेखि सिंहदरबार पुगेर दैनिक कार्यसम्पादन गरेका छैनन् । यसैबीच अनलाइनखबरले महाधिवेशनस्थल भरतपुरमा रहेका सरकारका प्रवक्ता एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग सरकारको काम–कारबाहीमा परेको प्रभावबारे जिज्ञासा राखेको छ ।
जवाफमा उनले सरकारका मन्त्रीहरू ‘पेन्डिङ’ कामहरू महाधिवेशन सुरूभन्दा अगाडि नै सम्पन्न गरेर चितवन आएको प्रतिक्रिया दिए ।
‘धेरैजसो मन्त्रीज्यूहरू पेन्डिङ कामहरु अगाडि नै सकेर आउनुभएको छ,’ प्रवक्ता पोखरेलले भने, ‘हाम्रो मन्त्रालयको केसमा पनि हामीले २–३ दिन जतिको पेन्डिङ कामहरू चाँडै नै सक्काएर आएका हौं ।’
उनले बाँकी काम र अपरझट गर्नुपर्ने काम भए मन्त्रालयका सचिव र कर्मचारीलाई फोन गर्न भनेको पनि बताए ।
‘कर्मचारीहरूलाई अर्जेन्टिली केही आयो भने मलाई फोन गरिहाल्नु भनेर मैले त्यसरी गरेको छु,’ पोखरेलले भने, ‘आई पनि रहेको छ, कतिपय कुरा म फोनबाट पनि समन्वय गरिरहेको छु ।’
प्रवक्ता पोखरेलले प्रधानमन्त्री र मन्त्रीहरू भरतपुरमा भए पनि तुरून्त गर्नुपर्ने निर्णयबारे सचिवहरूसँग समन्वय भइरहेको पनि बताए । ‘केही कुरा तुरुन्त निर्णय लिनुपर्यो भने हामीले सचिवज्यूहरूसँग सल्लाह गरिरहेका छौं,’ उनले भने ।
उनले तत्काल मनित्रपरिषद्मा लौजानु पर्ने विषयहरू नभएका कारण समय मिलाएर पार्टीको महाधिवेशन तोकिएको पनि बताए ।
‘मन्त्रिपरिषद्मै लैजानु पर्ने कुनै विषय नभएका हुनाले समय मिलाएर नै महाधिवेशन तोकिएको हो,’ पोखरेलले भने, ‘मन्त्रिपरषद्को बैठक पनि त्यहीअनुसार मिलाएर आएको हो ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ