काठमाडौंकाे वडा १७: ‘टिङ टिङ’ : प्रविधिले कोर्दैछ सुशासनको नयाँ चित्र
nepalpress.com · Wed Jun 24 08:14:41 GMT 2026

काठमाडौं । सरकारी कार्यालयको नाम सुन्नेबित्तिकै आम दिमागमा एउटा चित्र बन्छ- लामो लाइन, झन्झटिलो प्रक्रिया, कुन कोठामा जाने भन्ने अन्योल र दिनभरिको हैरानी । तर, काठमाडौं महानगरपालिकाको वडा नम्बर १७ ले अब यो परम्परागत चित्रलाई सधैँका लागि बदल्ने कदम चालेको छ।
नेपाली प्रविधि कम्पनीले विकास गरेको एआई च्याटबोट ‘टिङ टिङ’ अब वडा नम्बर १७ को आधिकारिक सेवाग्राही सहायक बनेको छ।
अब सेवाग्राहीले कुनै पनि सेवाको दस्तुर, आवश्यक कागजात वा प्रक्रियाबारे बुझ्न वडा कार्यालयको सोधपुछ कक्षमा पुगेर लाइन बस्नु पर्दैन। आफ्नो स्मार्टफोनबाटै ‘टिङ टिङ’ सँग जोडिएपछि नागरिकले सेकेन्डभरमै सटिक र आधिकारिक जानकारी पाउन थालेका छन् ।
अझ गजबको कुरा त के छ भने, यो सेवाले बिहान १० बजेदेखि बेलुका ५ बजेसम्मको परम्परागत समयसीमा पनि तोडिदिएको छ । राति होस् वा सार्वजनिक बिदाको दिन, सेवाग्राहीले आफ्नो अनुकूलतामा आवश्यक जानकारी लिन सक्छन् ।
हात-हातमै आधिकारिक सूचना पुगेपछि अपुरो कागजात बोकेर कार्यालय जाने र फर्किने सास्ती हटेको छ भने बिचौलियाको भर पर्नुपर्ने वा ठगिने जोखिमको पनि स्वतः अन्त्य भएको छ ।
यस नवीनतम प्रविधिको प्रयोगले सरकारी प्रशासनलाई पनि ठूलो राहत दिएको छ। दिनभरि एउटै प्रकृतिका सामान्य प्रश्नहरूको उत्तर दिइरहनुपर्ने वडाका कर्मचारीहरू अब त्यस्तो एकोहोरो कामबाट मुक्त भएका छन् । एआईले सामान्य सोधपुछ सम्हालेपछि कर्मचारीहरूले आफ्नो अमूल्य समय र ऊर्जा वडाको विकास निर्माण, अनुगमन तथा अन्य महत्त्वपूर्ण प्रशासनिक काममा लगाउन पाएका छन् ।
नागरिकले सबैभन्दा धेरै टृखोजेका सेवा र गुनासाहरूको तथ्यांक एआईले निरन्तर संकलन र विश्लेषण गर्छ। यसै तथ्यांकको आधारमा वडाका जनप्रतिनिधिहरूलाई नागरिकको वास्तविक आवश्यकता बुझेर सही नीति निर्माण गर्न र सेवा प्रवाहमा सुधार ल्याउन थप सहज भएको छ। सूचना प्रवाहमा आएको एकरूपताले कार्यालयको कामलाई थप पारदर्शी बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ
राष्ट्रिय सतर्कता केन्द्र