रास्वपा केन्द्रीय सदस्यमा प्रमोद न्यौपानेले दिए उम्मेदवारी
nepalpress.com · Wed Jun 24 08:27:08 GMT 2026

काठमाडौँ । रास्वपाका नेता प्रमोद न्यौपानेले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका छन् । सभापति रवि लामिछानेको विश्वासपात्रमध्येका एक न्यौपानेले खुल्लातर्फ उम्मेदवारी दिएका हुन् ।
उनले आज पहिलो चरणको निर्वाचनमा केन्द्रीय सदस्य र निर्वाचित ९९ सदस्यीयबाट पदाधिकारी निर्वाचित गर्ने बताए । प्राविधिक कारणले मतदानमा केही विलम्ब भइरहेको उनको भनाइ छ ।
उनले महाधिवेशन प्रतिनिधिलाई भनेका छन्, ‘आगामी ५ वर्ष सङ्गठन हाँक्ने सक्षम, योग्य व्यक्तिहरूलाई मतदानका लागि आग्रह गर्दछु। किनकि मतदान गर्दा हामीले विवेक पुर्याउन सकेनौँ भने ५ वर्षसम्म आउने नेतृत्वले सङ्गठनलाई सही ढङ्गबाट, पार्टीलाई सही ढङ्गबाट अगाडि बढाउन सक्दैन ।’
उनले आफ्नो पूर्ण विवेक प्रयोग गरेर योग्य, सक्षम व्यक्तिहरूलाई निर्वाचित गराउन आग्रह गरेका छन्। राष्ट्रिय महाधिवेशनको बन्द सत्रले पार्टीको नीति पारित गरेको बताए ।
उनले अगाडि भनेका छन्, ‘संवैधानिक समाजवादलाई आफ्नो सिद्धान्तका रूपमा अङ्गीकार गर्ने प्रारम्भिक निर्णय गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशनको बन्द सत्रबाट सामाजिक लोकतन्त्रलाई आफ्नो मार्गदर्शन सिद्धान्त वा विचारधाराका रूपमा अघि बढाउने निष्कर्ष निकालेको छ।’
सभापति लामिछानेले हिजो प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सामाजिक लोकतन्त्रलाई राष्ट्रिय स्वतन्त्र पार्टीको मार्गदर्शन सिद्धान्त, विचारधाराका रूपमा अगाडि बढाउने प्रस्ताव पारित भइसकेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)