घुमाउने घाटको पुल निर्माणको लागि नयाँ ठेक्का लगाइने
nepalnews.com · Wed Sep 16 07:43:55 GMT 2026

चितवन। नारायणगढ–मुग्लिन सडक खण्डको घुमाउने घाटमा निर्माणाधीन पुलको नयाँ ठेक्का लगाइने भएको छ। विसं २०७० मा ठेक्का लागेर निर्माणको चरणमा अलपत्र रहेको सो पुलको नयाँ ठेक्काका लागि अध्ययन सुरु गरिएको हो। सडक डिभिजन कार्यालय दमौलीका सूचना अधिकारी ई. राजेन्द्र कार्कीले पुल निर्माणका लागि चालु आर्थिक वर्षमा बोलपत्र आव्हान गर्न एक करोड ५० लाख रुपैंयाँ विनियोजन गरिएको बताए।
यसअघि निर्माण व्यवसायीले बनाएको संरचनाको अवस्था अध्ययन गर्ने काम भइरहेको छ। उनले भने, “अहिले पुलमा निर्माण गरिएको दुईतर्फको बेस पिल्लरको स्टकचर हेल्थको अध्ययन सुरु गरिएको छ।” उनका अनुसार कार्यालयले ठेकेदार कम्पनी मृत संञ्जीवनी निर्माण सेवा मकवानपुरसँग २०८३ साल वैशाख २९ गते ठेक्का तोडेको थियो। उक्त पुल निर्माणका लागि २०७० असार २८ गते मूल्य अभिवृद्धि करसहित ११ करोड २६ लाख रुपैंयाँमा ठेक्का सम्झौता गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)