मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्थानीय हाटबजारमा उपभोक्ताको घुइँचो

ratopati.com · Sun May 31 13:07:40 GMT 2026

भक्तपुर । ‘दिगो विकास व्यवस्थित सहर, स्वच्छ समृद्ध सूर्यविनायक नगर’ भन्ने नाराका साथ सूर्यविनायक नगरपालिकाको आयोजना एवं वडा नम्बर ८ कार्यालयको व्यवस्थापनमा सिपाडोलमा आइतबार भएको निःशुल्क घुम्ती हाटबजारमा उपभोक्ताको घुइँचो लागेको छ।

वडा नं ८ का वडाध्यक्ष एवं नगरपालिकाको आर्थिक विकास समिति संयोजक पुष्पराज बस्नेतले घुम्ती हाटबजारमा स्थानीय रैथाने तथा अर्गानिक उत्पादन, हरियो तरकारी, गुन्द्रुक, सिन्की, मस्यौरा, जिम्बु, च्याउँ, कुरिलो, फूलका बिरुवा, स्थानीय फलफूललगायत कक्ष (स्टल) मा उपभोक्ताको घुइँचो लागेको बताए।

उनले हाटबजारमा नेवारी खाजा सेट, योमरी, बारा, पानीपुरी, चटपटे, फास्टफुड, फुड स्टलहरू, नर्सरी, अचार, लसुन, सुत्केरी मसला, ड्राइफ्रुट्स, बाटेको धुप, बेसार, हर्बल सामग्रीहरू, हस्तकलाका गरगहना, मखमली जुत्ता, कपडाको कुसन कभर तथा घरेलु उद्योगका उत्पादनलगायत वस्तुसहित नगरपालिकाले निःशुल्क उपलब्ध गराएको ७० भन्दा बढी कक्ष राखिएका जानकाारी दिए।

कार्यक्रममा यसवर्ष एसइई परीक्षा उत्तीर्ण गरेका १०० भन्दा बढी विद्यार्थीलाई सम्मानपत्र प्रदान गरिएको थियो। हाटबजारमा दिउँसोदेखि साङ्गीतिक ब्याण्ड एवं चर्चित गायक मानस राजको विशेष प्रस्तुतीसहित कार्यक्रम आयोजना गरिएको छ।

नगरपालिकाले हाटबजार सञ्चालन गर्न कार्यपालिका बैठकबाट ‘हाटबजार सञ्चालन कार्यविधि’ स्वीकृत गरी सञ्चालनमा ल्याएको जनाउँदै वडाध्यक्ष बस्नेतले नगरपालिकाले पहिलो चरणको समीक्षा गरी वडावडामा हाटबजार सञ्चालन गर्ने तयारी गरिरहेको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)