मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पार्टी कसैको पेवा, व्यक्तिगत सम्पत्ति होइन: शाही

nagariknews.nagariknetwork.com · Wed Jun 24 08:45:20 GMT 2026

नेपाली कांग्रेसका नेता भुपेन्द्रजंग शाहीले सभापति गगन थापाले मंगलबार झापामा आयोजित एक कार्यक्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेका छन् ।

थापाले क्रियाशील सदस्यता अद्यावधिक नगर्नेहरूलाई पार्टीले सदस्यका रूपमा नचिन्ने बताएका थिए । सोही विषयलाई लिएर नेता शाहीले लोकतान्त्रिक पार्टीमा फरक बिचारलाइ निषेध र लोकतान्त्रिक मूल्य मान्यताको उपहास भएको बताएका हुन् ।

शाहीले पार्टीमा देखिएको एकलौटी र निरंकुश निर्णय, अलोकतान्त्रिक चरित्र, अद्यावधिकको नाममा पहिल्यै नवीकरण गरिसकेका सदस्यतालाई खारेज गर्ने र पार्टीमा हिजो जीवन समर्पण गरेका व्यक्तिहरूलाई निकालेर पार्टी कब्जा गर्ने जस्ता गम्भीर समस्या उत्पन्न गराउनुले देशभरिका शुभचिन्तक र समर्थकहरुलाइ स्तब्ध र दुखित तुल्याएको बताएका छन् ।

शाहीले भने,‘ गगन थापाजीले झापामा भाषण गर्दै क्रियाशील सदस्यता पहिला नै नवीकरण गरिसकेका तर अहिले पुनः दबाबमा अद्यावधिक नगरेका हजारौ साथीहरू कोही पनि कांग्रेस पार्टीको सदस्य नरहेको घोषणा गर्नु भएछ । अद्यावधिक नगरेका साथीहरूको नाम अब वडा अधिवेशनका क्रममा आउँदैन, सिस्टमले नै चिन्दैन । त्यसैले अद्यावधिक नभएका सदस्यको नाम वडा अधिवेशनदेखि माथिल्लो तहका निर्वाचन प्रक्रियामा समावेश नहुने र १५औं महाधिवेशनमा भाग लिन नपाउने प्रतिबन्ध लगाउनु भएछ।

‘पार्टी कसैको पेवा, व्यक्तिगत सम्पत्ति र बपौती होइन। कसैको धम्की, लहड र मनपरीतन्त्रबाट पार्टी चल्दैन। हामी कसैको दास र लास बन्ने होइन। आफ्नो स्वविवेक, विचार र अधिकारसहित बोल्न, लड्न र फरक विचार राख्न आउनु हाम्रो लोकतान्त्रिक अधिकार हो,’ शाहीले भने ।

पार्टीमा दबाबमा परेर सदस्यता अद्यावधिक नगरेका कारण कांग्रेस पार्टीको सदस्यता खारेजीमा पर्नु भएका, अन्यायमा परेका, पेलिएका, हेपिएका र निराश बन्नुभएका साथीहरूलाई आफूलाई फोन गर्नपनि शाहीले आग्रह गरेका छन् ।

Follow @nagarik_news

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)