डेंगुका तीन ‘सेरोटाइप’ पहिचान
annapurnapost.com · Mon Dec 05 00:31:00 GMT 2022
काठमाडौं : डेंगु लागेर साढे पाँच महिना अवधिमा ६२ जनाको ज्यान गएपछि यो रोगका तीन समूह (सेरोटाइप) पहिचान भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा सेरोटाइप १, २ र ३ ले मुलुकभर संक्रमण गराएको पत्ता लागेको हो। प्रयोगशालाकी निर्देशक डा. रुणा झाले यससम्बन्धी रिपोर्ट स्वास्थ्य सेवा विभागमा बुझाइसकेको बताइन्। ‘डेंगुका तीन किसिमका सेरोटाइप पुष्टि भएको छ। रिपोर्ट बुझाइसकेका छौं’, निर्देशक डा. झाले भनिन्।
विभागले भने उक्त प्रतिवेदन एक सातासम्म सार्वजनिक गरेको छैन। विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगुको सेरोटाइप छुट्ट्याउन सातवटै प्रदेशबाट नमुना संकलन गरेको थियो। महाशाखाका निर्देशक डा. चुमनलाल दासले मुलुकभर डेंगुका सेरोटाइप १, २ र ३ फैलिएको पुष्टि भएको स्वीकार गरे। ‘संकलित नमुना सबैको सेरोटाइपको नतिजा आइसकेको छैन’, निर्देशक डा. दासले अन्नपूर्ण पोस्ट्सँग भने, ‘दुई–अढाई सय जति नमुनाको रिपोर्ट प्राप्त भएको छ। अधिकांशमा सेरोटाइप १, २ र ३ देखिएको छ।’ बाँकी नमुनाको रिपोर्ट आएपछि सार्वजनिक गरिने डा. दासले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)