उदयपुरमा जुवा खेलिरहेको अवस्थामा चार जना पक्राउ
gorkhapatraonline.com · Wed Jun 24 09:11:31 GMT 2026

जिल्ला प्रहरी कार्यालय उदयपुर र अस्थायी प्रहरी पोस्ट बगाहाबाट खटिएको संयुक्त प्रहरी टोलीले मङ्गलवार साँझ त्रियुगा नगरपालिका वडा नम्बर ४ बाट चार जना जुवाडेलाई पक्राउ गरेको छ।
स्थानीय डाँडातोलस्थित ईश्वर कार्कीको गोठघरमा जुवा खेलिरहेको अवस्थामा त्रियुगा नगरपालिका वडा नम्बर ४ बस्ने ५० वर्षीय तिलक बुढाथोकी, वडा नम्बर ११ बस्ने ३९ वर्षीय भवननाथ सिग्देल, सोही ठाउँका ४० वर्षीय प्रविण राई र वडा नम्बर ९ बस्ने ४३ वर्षीय दीपक बराललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरूको साथबाट १६ वटा जुवाको कौडा, ५२ हजार ६०० रुपियाँ नगद, पाँच थान मोबाइल र चार थान मोटरसाइकलसहित फेला पारी नियन्त्रणमा लिइएको हो। पक्राउ परेका व्यक्तिहरूलाई जिल्ला प्रशासन कार्यालय उदयपुरबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
नेपाल प्रहरी