मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपा महाधिवेशन: खुला मधेसी केन्द्रीय सदस्यमा श्रममन्त्री यादवको उम्मेदवारी

gorkhapatraonline.com · Wed Jun 24 09:15:04 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले 'खुला मधेसी' कोटाबाट केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गर्नुभएको छ। मधेसको प्रभावशाली नेताका रूपमा प्रतिनिधित्व गर्दै यादवले केन्द्रीय नेतृत्वका लागि आफ्नो दाबेदारी प्रस्तुत गर्नुभएको हो।

रास्वपाको ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन यही असार ७ गतेदेखि चितवनमा भइरहेको छ। भारतको प्रतिष्ठित शिक्षण संस्था आईआईटी मद्रासबाट एम.टेक. गर्नुभएका इन्जिनियर यादवले पार्टीभित्र प्राज्ञिक र युवा नेतृत्वको प्रतिनिधित्व गर्नुहुन्छ।

उहाँले आफ्नो चुनावी प्रतिबद्धतामा नीतिगत स्पष्टता र सामाजिक रूपान्तरणलाई जोड दिनुभएको छ। उम्मेदवारी घोषणा गर्दै मन्त्री यादवले भन्नुभयो, "नयाँ सोच, सामाजिक समृद्धि, समानता र परिवर्तनको प्रतिबद्धतासहित मधेसको सम्मान र समावेशी पहिचान स्थापित गर्न मेरो उम्मेदवारी हो।"

रास्वपाले समावेशी र लोकतान्त्रिक पद्धतिलाई अङ्गाल्दै महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने तयारी गरिरहँदा, यादवको उम्मेदवारीले मधेसी समुदायको सम्मान, पहिचान र राष्ट्र निर्माणमा युवा इन्जिनियरको भूमिकालाई स्थापित गर्ने विश्वास गरिएको छ। उहाँले आफूलाई मतदान गरी विजयी गराउन महाधिवेशन प्रतिनिधिहरूसँग अपिलसमेत गर्नुभएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)