मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लामो खडेरीले सुक्न थाले मकै

gorkhapatraonline.com · Wed Jun 24 09:28:12 GMT 2026

असारको पहिलो हप्ता बितिसक्दा पनि पानी नपरेपछि किसान चिन्तित बनेका छन् । लामो समयको खडेरीका कारण बारीमा लगाएका मकै सुक्न थालेपछि किसान चिन्तित बनेका हुन् ।

वर्षा नभएकाले बारीमा मकै सुक्न थालेको प्युठान नगरपालिका–४, थापाडाँडाका लालबहादुर घर्तीले बताउनुभयो । “मकैको पात सुक्न थालेको छ” घर्तीले भन्नुभयो, “पानी नपर्दा किराले मकैको जरा काटेको छ ।” लामो समयको खडेरीले मकैबालीमा फौजी किराको प्रकोप समेत बढेको उहाँको भनाइ छ ।

जिल्लामा आकाशबाट पानी नपरेको कारण बल्लतल्ल जेठको पछिल्लो सातादेखि बारीमा रोपेको मकैबाली हुर्कन नपाउँदै खेतबारीमै सुक्न थाले प्युठान नगरपालिका–३, कुवापानीका स्थानीय रविन्द्र पाण्डेले बताउनुभयो । “वर्षभरी खाने खेतबारीमा लगाएको मकै सुक्न थालेका छन्” उहाँले भन्नुभयो, “हाम्रो मुख्य बाली नै मकै हो, छरेदेखि अहिलेसम्म पानी परेको छैन ।”

खेतमा रोपेको धान पनि पानी नहुँदा सुक्न थालेका छन् । धेरैजसो टारी खेतमा पानी नहुँदा रोपाइँ हुन सकेको छैन । कुलोमा पानी नभएर खेत सुख्खा भएकाले रोपो जोगाउन गाह्रो भएको स्थानीय किसानको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)