उपत्यकाको ट्राफिक व्यवस्थापन प्रविधिमैत्री बनाइँदै
nepalnews.com · Wed Jun 24 10:20:21 GMT 2026

काठमाडौँ। काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन सुरु गरिएको छ। यसका लागि फेसलेस ट्राफिक व्यवस्थापन प्रणालीलाई विस्तार गर्ने योजना बनाएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
कार्यालयले स्वचालित निगरानी प्रणालीको विकास गर्दै फेसलेस ट्राफिक व्यवस्थापन प्रणालीलाई योजनाबद्ध ढंगले अघि बढाउने जनाएको हो। कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले सडकमा ट्राफिक प्रहरीको प्रत्यक्ष उपस्थितिबिना सीसीटीभी र प्रविधिको प्रयोग गरी अनुगमन र कारबाही गर्न सकिने प्रणाली सुरु गरिएको बताए।
उनले स्वचालित निगरानी प्रणालीअनुसार विश्वसनीय र भरपर्दो तरिकाले सेवा प्रवाह हुने उल्लेख गरे। साथै उनले जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ भन्ने नाराका साथ १ असारदेखि उपत्यकामा ट्राफिक नियमसम्बन्धी सचेतना कार्यक्रम गरिरहेको पनि जानकारी दिए।
सडकमा कानुनको कार्यान्वयन गर्दै दुर्घटना न्यूनीकरण गर्नु ट्राफिक प्रहरीको महत्त्वपूर्ण जिम्मेवारी भएकाले सडक अनुशासनमा जोड दिइएको उनले बताए। सुवेदीले सहज सवारी आवागमनलाई व्यवस्थित गर्न उपत्यकामा मात्रै १६ सयको संख्यामा प्रहरी जनशक्ति परिचालन गरिएको पनि उल्लेख गरे।
उनले स्रोतसाधन, जनशक्तिको अधिकतम परिचालन गरेर सडक व्यवस्थापनमा लाग्दासमेत नागरिकले कल्पना गरेजस्तो व्यवस्थापन हुन नसकिरहेको अवस्था रहेको बताए।
सडकको पूर्वाधारको विकासको अनुपातमा सवारीसाधनको संख्या बढिरहेका कारण ट्राफिक व्यवस्थापनमा केही समस्या देखिएको उनको भनाइ छ।
उनले अहिले देखिएका चुनौती सामना गर्दै ट्राफिक व्यवस्थापनलाई सहज बनाउने संकल्पका साथ काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय अगाडि बढिरहेको धारणा राखे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)