मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाल आयल निगमको ट्यांकरबाट ७७३ लिटर पेट्रोल चोरी, अनुसन्धानपछि तथ्य सार्वजनिक

kalakarmi.com · Wed Jun 24 10:28:41 GMT 2026

विराटनगर– नेपाल आयल निगम लिमिटेड, कोशी प्रादेशिक कार्यालय विराटनगरले आफ्नो डिपोमा आएको पेट्रोल बोकेको ट्यांकरबाट ७७३ लिटर पेट्रोल चोरी भएको पुष्टि गरेको छ । निगमले बुधवार जारी गरेको प्रेस विज्ञप्तिमार्फत घटनाबारे विस्तृत जानकारी सार्वजनिक गरेको हो ।

निगमका अनुसार श्री नवीन ढुवानी सेवा प्रालिको ट्यांकर ९को १ ख ६१९०० ले भारतीय आयल कर्पोरेसनको सिलिगुडी डिपोबाट २० हजार लिटर पेट्रोल लोड गरी असार ७ गते बिहान करिब ५ बजे विराटनगरस्थित निगमको डिपो परिसरमा प्रवेश गरेको थियो । तर असार ८ गते बिहान ९ बजे उक्त ट्यांकर पार्किङस्थलबाट हराएको जानकारी ढुवानीकर्ताले निगमलाई दिएका थिए ।

घटनापछि नेपाल आयल निगमले जिल्ला प्रहरी कार्यालय मोरङलाई लिखित जानकारी गराउँदै अनुसन्धान अघि बढाएको थियो । सीसीटीभी फुटेजको अध्ययन गर्दा ट्यांकर असार ८ गते बिहान ३स्०३ बजे पार्किङ स्थलबाट बाहिरिएको र नोबेल अस्पतालतर्फ गएको देखिएको निगमले जनाएको छ ।

निगम, प्रहरी तथा ढुवानीकर्ताको संयुक्त खोजी अभियानका क्रममा करिब १७ किलोमिटर टाढा सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित हुलाकी राजमार्ग क्षेत्रमा ट्यांकर फेला परेको थियो । फेला पर्दा ट्यांकरको सिल र ताल्चा काटिएको अवस्थामा रहेको बताइएको छ । त्यसपछि प्रहरीले आवश्यक मुचुल्का तयार गरी थप अनुसन्धानका लागि प्रक्रिया अघि बढाएको थियो ।

बुधवार दिउँसो मोरङका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय मोरङ, सञ्चारकर्मी, निगम तथा ढुवानीकर्ताका प्रतिनिधिहरूको उपस्थितिमा ट्यांकरको सिल खोली गुणस्तर तथा परिमाण परीक्षण गरिएको थियो । परीक्षणका क्रममा २० हजार लिटरमध्ये ७७३ लिटर पेट्रोल कम रहेको पुष्टि भएको निगमले जनाएको छ । बाँकी १९,०२७ लिटर पेट्रोल निगमको भण्डारणमा खन्याइएको छ ।

निगमका अनुसार पेट्रोलको गुणस्तर भने मापदण्डअनुसार नै रहेको पाइएको छ । साथै, पेट्रोलियम पदार्थ ढुवानी विनियमावली–२०७३ अनुसार चोरी भएको परिमाणको दोब्बर रकम ढुवानीकर्ताबाट असुल गरिएको जानकारी पनि निगमले दिएको छ ।

यस घटनासम्बन्धी केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आधारहीन र तथ्यहीन समाचारहरू प्रकाशित भएको भन्दै निगमले आपत्ति जनाएको छ । निगमले आधिकारिक जानकारीबाहेकका समाचारमा विश्वास नगर्न तथा सम्बन्धित सरकारी निकायबाट अनुसन्धान जारी रहेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)