मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चिया उद्योग बन्द हुँदा किन मौन छ बालेन सरकार ?

nepalviews.com · Wed Jun 24 10:37:40 GMT 2026

काठमाडौं । देशका ८६ चिया उद्योग बन्द भएको हप्ता दिन बितिसक्दा पनि सरकारले कुनै पहलकदमी लिएको छैन । चिया उद्योगीले भारत सरकारसँग उच्चस्तरीय संवादका लागि सरकारलाई अनुरोध गरेका छन् । तर, प्रधानमन्त्री बालेन्द्र शाह मौन छन् ।

चिया नेपालको मुख्य निर्यातजन्य उत्पादनमध्ये एक हो । चिया उद्योग बन्द हुँदा करिब १४ हजार चिया किसान र करिब ६० हजार मजदुर प्रभावित हुन्छन् । चिया उत्पादन क्षेत्रमा ७० अर्बभन्दा बढीको पुँजीगत लगानी छ । अहिले यो लगानी जोखिममा परेको छ ।

पूर्वका झापा, इलाम, पाँचथर र धनकुटा चिया खेती हुने मुख्य जिल्ला हुन । यी जिल्लाले भारतीय र विश्व बजार पहुँचका लागि पूर्वी सीमा नाका प्रयोग गर्दछन् । पूर्वी नाकामध्ये मुख्य काँकडभिट्टा नाका हो ।

तेस्रो देश निर्यात हुने चिया पनि काँकडभिट्टा हुँदै कोलकाता र हल्दिया बन्दरगाहबाट अरु देश जाने गर्छ ।

पूर्वी नाकाबाट हुने निर्यात प्रभावित हुँदा भारतीय बजार पहुँच मात्र होइन, तेस्रो देश निर्यातका लागि काठमाडौं ल्याएर कार्गो विमान प्रयोग गर्नुपर्ने हुन्छ । यसो गर्दा लागत वृद्धि भई विश्व बजारमा मूल्य प्रतिस्पर्धा असहज हुन्छ ।

नेपालमा उत्पादित चियाको करिब ९६ प्रतिशत भारत र भारत हुँदै निर्यात हुन्छ । नेपाली चिया खपत हुने अन्य मुख्य देश अमेरिका,जर्मनी, जापान, युरोप र अस्ट्रेलिया हुन् । नेपालको कुल निर्यातको २ प्रतिशत चियाले ओगट्छ । नेपालले वार्षिक करिब ५ अर्बको चिया निर्यात गर्दै आएको छ ।

नेपाल र भारतबीच के नयाँ समस्या आएको कारण यो स्थिति उत्पन्न भएको हो, कसैले प्रस्ट गरेको छैन । दुवै देशका सरकार खुलेर समस्या बताउन अनिच्छुक छन् ।

काँकडभिट्टा भन्सार कार्यालयका एक कर्मचारी भन्छन्– ‘वास्तविक समस्या के हो हामीले पनि बुझ्न सकेका छैनौं । भारतीयपक्षले आफ्नो कुरा खुलेर भन्ने गरेको छैन । करिब २ महिनायतादेखि यस्तो समस्या सुरु भएको हो । भारतीयपक्षले गुणस्तर परीक्षण प्रक्रिया लामो र झन्झटिलो बनाइदिँदा यो समस्या आएको हो । तर, कारण के हो, यसै भन्न सकिन्न । विगतमा जुन मापदण्ड र प्रक्रियाबाट निर्यात भइरहेको थियो, नेपाली चियाको गुणस्तरमा कुनै गिरावट आएको छैन ।’

अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नुपर्ने कारण नेपाली चिया किसान र उद्योगहरु गुणस्तरबारे होसियार छन् । नेपाली चियाको गुणस्तर दिनप्रतिदिन सुधार हुँदै गएको छ । विश्व बजारमा मागसमेत बढ्दै गएको छ ।

स्थानीय बासिन्दाहरुका अनुसार करिब महिना दिनयता पूर्वी नाकामा निर्यात मात्र होइन, आवतजावतलाई पनि थप कडाइ गरिएको छ । पहिले नेपाली परिचय पत्र देखाएको भरमा यात्रुलाई छोडिदन्थ्यो । अहिले राम्रै चेकजाँच गरिन्छ ।

पूर्वी नाकाको कडाइ र चिया निर्यातको जटिलता काठमाडौं–नयाँ दिल्लीबीच उत्पन्न चीसोपनको परिणाम हुन सक्ने अनुमान गरिँदै छ ।

बालेन्द्र शाह नेतृत्वको सरकारले सीमा नाकामा १०० रुपैया बढीको सामान सीमापार अनौपचारिक किनमेल गर्न नदिने निर्णय गरेदेखि नै चिसोपन सुरु भएको थियो ।

अर्को कारण बालेन सरकारले छोटी भन्सार कार्यालय बन्द गर्नु र भारतले त्यसको प्रतिक्रिया स्वरुप मौन असन्तुष्टि जनाएको हुन सक्दछ । बालेन सरकार आएपछि १३३ भन्सारमध्ये १८ कायम राखेर अरु भन्सार कार्यालय खारेज गरिएको छ ।

यसले स्थानीय किनमेल र व्यापार प्रभावित भएको छ । सीमा क्षेत्रका भारतीय व्यापारी र नेपालतिर सीमाञ्चलवासी नागरिकमा व्यापक असन्तुष्टि बढेको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहले भारतीयपक्षसँग संवाद गर्न नचाहनु र भारतीय राजदूतलाई समेत सामूहिक भेटघाट मात्र गर्नु यसको कारण हुन सक्ने अनुमान गरिँदै छ । परराष्ट्रमन्त्रीको तहबाट समस्या हल हुन सकेको छैन ।

प्रधानमन्त्री बालेन्द्र शाहले भारतीयपक्षसँग संवाद गर्न नचाहनु र भारतीय राजदूतलाई समेत सामूहिक भेटघाट मात्र गर्नु यसको कारण हुन सक्ने अनुमान गरिँदै छ । परराष्ट्रमन्त्रीको तहबाट समस्या हल हुन सकेको छैन ।

मेची किनारको पूर्वी सीमालाई ‘चीन सीमा–महेशपुर’ भन्ने गरिन्छ । यो ताप्लेजुङको उत्तर चीनसँग जोडिएको बिन्दुदेखि झापा भद्रपुरको महेशपुरसम्मको लामो क्षेत्र हो ।

यी क्षेत्रमा नेपाल र भारतबीचको परम्परागत नागरिक–नागरिक विगतमा सम्बन्ध बलियो थियो । स्थानीय अनौपचारिक सम्बन्धले नै धेरै काम गर्थ्यो । भारततिर नेपाली भाषी सिक्किम र गोर्खाल्यान्ड क्षेत्र भएको हुँदा सीमाञ्चल क्षेत्रको समस्या हल गर्न सजिलो हुन्थ्यो । सीमा क्षेत्रमा स्थानीय बासिन्दा एक अर्कालाई सहयोग गरेर बसेका हुन्छन् ।

तर, प्रशासनिक कडाइको कारण नागरिक–नागरिक सम्बन्ध कमजोर हुँदै गएको छ । साथै, स्थानीय बासिन्दा, उद्योगी, व्यापारीका दु:ख, असमझारी र झमेला बढ्दै गएका छन् ।

काठमाडौंका शासकहरुले यो कुरा राम्रो ध्यान नदिँदा अहिलेको अवस्था आएको हो ।

भारतीय विदेश सचिव विक्रम मिश्री गत वैशाख ११ गते काठमाडौं आउने कार्यक्रम थियो । प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेट अनिश्चित बनेपछि अन्तिम समयमा उनले भ्रमण रद्द गरेका थिए ।

त्यसपछि रास्वपा सभापति रवि लामिछाने र लगत्तै परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमण गए । ती भ्रमणको उपलब्धि के हो ? प्रस्ट छैन । पूर्वी सीमाको कडाइ र चिया निर्यात प्रक्रियाको समस्याबारे कुरा भए नभएको दुवै सरकारले प्रस्ट पारेका छैनन् ।

भारतीयपक्षले गरिरहको तर्क भने नयाँ चिया गुणस्तर मापन प्रणाली लागू हुनु र आफ्नै देशको चिया उद्योगलाई प्रवर्द्धन गर्ने नीति लिनु हो ।

तर, नेपालको सीमित निर्यात क्षमताबारे भारत जानकार छ । नेपाली चिया निर्यात प्रभावित हुँदा नेपालको व्यापार घाटा झनै बढ्छ । विगतमा पनि यस्ता समस्या द्विपक्षीय वार्ता र संवादबाट हल हुँदै आएका हुन् ।

कूटनीतिक क्षेत्रका जानकारहरुका अनुसार बालेन्द्र शाह सरकार बनेयता दुई देशबीचको सम्बन्धमा अपेक्षित र मन्द गतिरोध उत्पन्न भएको छ । कारण प्रस्ट छैन, सम्बन्ध राम्रो पनि छैन । स्वयं रास्वपा संसाद अमरेशकुमार सिंहले एक अन्तर्वार्तामा यस्तो खुलासा गरेका थिए।

चिया उद्योगहरु बन्द हुँदा पूर्वी सीमाञ्चल क्षेत्रमा बालेन सरकारप्रतिको असन्तुष्टि तीव्र हुँदै गएको छ । काठमाडौंका शासक वर्गले आफ्नो समस्या नबुझेको भन्दै रोष प्रकट गर्न थालिएको छ ।

इलामका एक चिया किसान दूर्गाबहादुर निरौला भन्छन्– ‘नयाँ पार्टी र युवा प्रधानमन्त्रीको सरकार आयो, अब राम्रो होला भन्ने थियो । हाम्रो त रोजीरोटी नै समाप्त हुने भो । कसैलाई मतलब नै नभए जस्तो गरिरहेका छन् । काठमाडौंमा बस्नेलाई सीमाक्षेत्रको समस्या थाहा छैन, राष्ट्रवादका चर्का कुरा मात्र गरेर हुन्न नि ।’

दुबै देशका सरकारले वार्ता र संवादद्वारा समस्याको समाधन खोज्न ढिलो गर्नु हुँदैन ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)