‘टाढाको आफन्त भन्दा नजिकको छिमेकी राम्रो’ : चीनले नेपालको सन्दर्भमा दिन खोजेको सन्देश के ?
ratopati.com · Wed Jun 24 10:45:00 GMT 2026

काठमाडौँ । चीनले ‘टाढाको आफन्त भन्दा नजिकको छिमेकी राम्रो’ भन्ने सन्देश नेपाललाई दिएको छ । केही दिनअघि परराष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यीले यस्तो भनाइ राखेका थिए ।
असार १ गते परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबिच भेटवार्ता भएको थियो । सोही भेटवार्ताको क्रममा चिनियाँ विदेशमन्त्री यीले परराष्ट्रमन्त्री खनाललाई टाढाको आफन्तभन्दा नजिकको छिमेकी राम्रो हुने सन्देश सुनाएका थिए ।
चीनले नेपाललाई ‘टाढाको आफन्त’ भनेर कसप्रति लक्षित गरेको हो भन्ने प्रस्ट छैन । जानकारहरू चीनले नेपाललाई ‘टाढाको आफन्त’ भनेर अमेरिकातर्फ सङ्केत गरेको बताउँछन् । पछिल्लो समय नेपालमा अमेरिकाको बढ्दो गतिविधिले चीन सशङ्कित भएको छ । जेनजी आन्दोलपछि नेपालमा अमेरिका निकै सक्रिय भएको चीनको बुझाइ छ । चीनले खुलेर नभने पनि नेपाललाई अमेरिकासँगको सम्बन्ध भन्दा चीनसँगको सम्बन्ध फलदायी हुने सङ्केत गरेको जानकार बताउँछन् ।
रातोपाटीसँगको कुराकानीमा रुसका लागि पूर्वनेपाली राजदूत हिरण्यलाल श्रेष्ठले चीनको सङ्केत अमेरिकातिर रहेको बताए । ‘नेपालमा परिवर्तन आइसकेपछि अमेरिकाबाट एकपछि अर्को दूत आइराखेका छन्, कतिपय दूत नेपालका मन्त्रीहरूलाई समेत नभेटी सिधै तिब्बती शरणार्थी क्याम्पमा गएर तिब्बती नेतासँग भेट गरेका छन्,’ उनले भने, ‘यसले चीन सङ्शकित हुनु स्वाभाविक हो ।’
पूर्व राजदूत श्रेष्ठका अनुसार अब नेपालले नजिकको छिमेकीसँग रहने कि टाढाको असल नातेदारसँग बढी विश्वास गर्ने भन्नेबारे निर्णय गर्नुपर्ने बेला आएको छ । उनले कुनै देशको विरुद्ध कुनै देशलाई आफ्नो भूमि प्रयोग गर्न दिनु हुन्न भने कुरामा नेपाल सचेत रहनुपर्ने बताए ।
अमेरिकी गतिविधि
सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणमा रहेको बेला त्यहाँका अमेरिकी राजदूत एवं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका लागि विशेष दूत सर्जियो गोरले उनलाई भेटेका थिए । जबकि गत वैशाख १७ गते नेपाल भ्रमणमा आएको बेला पनि राजदूत गोरले सभापति लामिछानेसँग भेटेका थिए ।
कूटनीतिमा यसलाई अनौठो मानिएको छ । किनकि एउटा देशको नेता अर्को देशको भ्रमणका गएको समयमा तेस्रो देशको कूटनीतिज्ञले भेट गर्नु अनौठो मानिन्छ । सो भेटलाई चीनले नोटिसमा लिएको छ । वैशाखको पहिलो हप्ता दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री एस.पाउल कपुर, दोस्रो हप्ता विशेष दूत सर्जियो गोर र अमेरिकी सरकारका उपविदेशमन्त्री सारा बी रोजर्स तीन दिने भ्रमणका लागि नेपाल आएका थिए ।
रोजर्ससँग भेटेर सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा निस्केका थिए । दिल्लीमा जेठ २१ गते उनले अमेरिकी विशेष दूत सर्जियो गोरसँग भेटेका थिए ।
यी गतिविधिले गर्दा नेपाल अमेरिकासँग नजिक भएको हो कि आशङ्का चीनले गरेको हो । सोही आधारमा चीनले परराष्ट्रमन्त्री खनाललाई ‘टाढाको आफन्तभन्दा नजिकको छिमेकी राम्रो’ भन्ने सन्देश सुनाएको जानकारहरू बताउँछन् ।
चीनका लागि नेपाली पूर्वराजदूत टंक कार्कीले चीनले टाढा भनेर अमेरिकालाई नै सङ्केत गरेको बताए । उनले भने, ‘विश्वमा अहिले जसरी प्रतिस्पर्धा चलिरहेको छ, जसरी परिवर्तन भइरहेका छन्, त्यसको दौडमा यिनै शक्ति राष्ट्र छन्, अमोरिका–चीन आमने–सामने छन् । स्वाभाविक रूपमा चीन चाहन्छ कि नेपालमा अमेरिकी गतिविधि नहोस् ।’
चीनले टाढा भनेर देशको नाम नतोके पनि अमेरिकालाई भनेको अर्थ लगाउन सकिने कार्कीको भनाइ छ ।
चीनको सिद्धान्त ‘छिमेकी पहिलो’
नेपालमा देखिएको अमेरिकी गतिविधिबाट चीन अनभिज्ञ छैन । यहाँ भइरहेको हरेक गतिविधिलाई चीनले सुक्ष्म ढंगबाट हेरिरहेको धेरैको बुझाइ छ ।
विदेश मामिलका अर्का जानकार युवराज संग्रौलाले नेपाल–भारत–चीन एक ठाउँमा रहेर काम गरोस् भने चाहना चीनको रहेको बताए । त्यही भएर टाढाको आफन्तभन्दा नजिकको छिमेकी राम्रो भन्ने कुरा नेपाललाई चीनले सम्झाएको उनको भनाइ छ ।
चीनले आफ्नो हरेक छिमेकी देशलाई यो कुरा भन्दै आएको संग्रौलाले बताए । उनले यो चीनको विदेश नीति तथा त्यहाँका राष्ट्रपति सी चिनफिङको पुस्तकमा पनि यो विषय उल्लेख गरिएको प्रस्ट पारे ।
चीनले ‘छिमेकी पहिलो’ सिद्धान्त नै बनाएको संग्रौलाको भनाइ छ । ‘चीन र अमेरिकाबिच खुला रूपमा शीत युद्ध चलिरहेको छ । यस अवस्थामा छिमेकमा कसले के गरिरहेको छ भन्ने निगरानी गर्नु स्वाभाविक हो,’ उनले भने ।
परराष्ट्रमन्त्री खनालको चीन भ्रमणले दुई देशबिचको साझा बुझाइलाई स्पष्ट पारेको उनले बताए । दुई देशको बिचमा हिमालय उभिए पनि यसले दुई देशका जनताबिचको सम्बन्ध र मित्रतालाई कहिल्यै नछेकेको उनले दाबी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
डोनाल्ड ट्रम्प