भारतबाट पेट्रोल लोड भएर आएको ट्यांकर बाटोबाटै गायब, ९ सय ७३ लिटर चोरी
shilapatra.com · Wed Jun 24 10:45:00 GMT 2026

भारतबाट पेट्रोल लोड भएर आएको ट्यांकर बाटोबाटै हराएको घटना बाहिरिएको छ । नेपाल आयल निगमको कोशी प्रादेशिक कार्यालय विराटनगरको लागि भारतको सिलिगुडीबाट पेट्रोल लोड भएर आएको गाडी गत आइतबार डिपो नजिकैबाट हराएको पाइएको हो ।
पेट्रोलियम पदार्थको ढुवानीकर्ता नवीन ढुवानी सेवाको ट्यांकर १ ख ६१९० ले ६ जेठ, २०८३ मा इण्डियन आयल कर्पोरेसनको सिलिगुडी डिपोबाट २० हजार लिटर पेट्रोल लोड भएर आएको तर ७ गते ८ बजे डिपो परिसरबाट करिब ३०० मिटरको दूरीमा रहेको कञ्चनबारीस्थित पार्किङमा राखिएकै अवस्थामा हराएको निगमले जनाएको छ ।
ढुवानीकर्ताको सूचनाका आधारमा निगमका कर्मचारी, प्रहरी र ढुवानीकर्ताबाट तत्काल खोजी कार्य भएकोमा निगमबाट करिब १७ किमीको दूरीमा सुनसरी जिल्ला भोक्राहा ८ स्थित हुलाकी राजमार्गमा बेवारिसे अवस्थामा फेला पारेको निगमले जनाएको छ ।
उक्त ट्यांकरबाट २० हजार लिटरमध्ये ९७३ लिटर पेट्रोल चोरी भएको पाइएको पनि निगमले जनाएको छ । ट्यांकरमा बाँकी रहेको १९ हजार २७ लिटर पेट्रोल निगमको भण्डारणमा राखिएको निगमले जनाएको छ ।
साथै निगमको पेट्रोलियम पदार्थ ढुवानी विनियमावली, २०७३ मा भएको व्यवस्थाबमोजिम चोरी भएको परिमाणको दोब्बर रकम ढुवानीकर्ताबाट असुलसमेत गरेको जनाएको छ ।
प्रकाशित मिति: बुधबार, असार १०, २०८३
१६:३०
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)