ड्युटीमा रहेका ट्राफिकले सवारी चालकसँग हात मिलाउन नपाउने, ‘नमस्ते’ गर्न सर्कुलर
nepalpress.com · Wed Jun 24 10:50:49 GMT 2026

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ड्युटीमा खटिने ट्राफिक प्रहरी कर्मचारीहरूलाई सवारी चालक तथा अन्य सेवाग्राहीसँग हात नमिलाउन कडा निर्देशन जारी गरेको छ ।
ट्राफिक प्रहरीले चेकिङका क्रममा हात मिलाएको दृश्यहरूलाई लिएर सामाजिक सञ्जाल र आम नागरिकबाट विभिन्न गुनासोहरू आएको भन्दै कार्यालयले सर्कुलर नै जारी गरेको छ ।
उपत्यकाका सबै ट्राफिक प्रहरी परिसर, वृत्त, प्रभाग र पोष्टहरूलाई सर्कुलर जारी गर्दै अब उप्रान्त ड्युटीको समयमा हात मिलाउने कार्यलाई पूर्ण रूपमा निषेध गरेको छ ।
एसपी नरेशराज सुवेदीद्वारा हस्ताक्षरित सर्कुलरमा भनिएको छ, ‘ट्राफिक प्रहरीले चेकिङ तथा अन्य ड्युटीको समयमा सवारी चालक लगायत अन्य सेवाग्राहीहरूसँग हात मिलाएका दृश्यहरूप्रति नागरिक स्तरबाट गुनासो आएकाले अब उप्रान्त हात मिलाउने कार्यलाई पूर्ण रूपमा अस्वीकार गरी टाढैबाट ‘नमस्ते’ मात्र भनेर सम्मान गर्न/गराउन निर्देशन दिइएको छ ।’
विशेष गरी चेकिङका क्रममा हात मिलाउँदा त्यसलाई शंकास्पद रूपमा हेरिने र व्यावसायिक मर्यादामा समेत प्रश्न उठ्ने गरेको भन्दै ट्राफिक प्रहरीले ‘नमस्ते’ संस्कृतिलाई अनिवार्य बनाउन खोजेको ट्राफिक अधिकारीले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ