मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरान युद्धविरुद्ध प्रस्ताव पास गरेर अमेरिकी संसद्‌ले शत्रुलाई मद्दत गर्‍यो: ट्रम्प

barnanmedia.com · Wed Jun 24 10:55:24 GMT 2026

अमेरिकाका दुवै सदनले इरान युद्धसम्बन्धी संकल्प (इरान वार पावर्स रिजोल्युसन) पारित गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्प आक्रोशित भएका छन्।

अमेरिकी संसद्‌को तल्लो सदन ‘हाउस अफ रिप्रेजेन्टेटिभ्स’ (प्रतिनिधिसभा) ले पारित गरेको इरानविरुद्ध युद्ध रोक्ने प्रस्ताव मंगलबार माथिल्लो सदन सिनेटले पनि अनुमोदन गरेपछि ट्रम्प रुष्ट भएका हुन्।

ट्रम्पले बुधबार ट्रुथ सोसलमा लेखेका छन्, ‘मैले इरानलाई लगभग हराइसकेको थिएँ; ऊ हार स्वीकार गर्न र हामीलाई लगभग सबै कुरा दिन तयार भइसकेको थियो। दशकौँमा पहिलोपटक उसले अमेरिका र यसका राष्ट्रपति अर्थात् मप्रति ठुलो सम्मान देखाइरहेको थियो। तर त्यही बेला अमेरिकी सिनेटले युद्ध शक्ति ऐनमा मूर्खतापूर्ण र बेकारको मतदान गर्‍यो।’

उनले अगाडि लेखेका छन्, ‘यसले विश्वको सबैभन्दा ठुलो आतंकवाद प्रवर्द्धकलाई सन्देश दियो- अमेरिकालाई मेरा काम मन पर्दैनन् र मैले रोक्नुपर्छ। यसो गरेर उनीहरूले शत्रुलाई मद्दत गरेका छन्।’

साथै उनले आफ्नै पार्टी रिपब्लिकनका चार सांसद किन डेमोक्र्याटका पक्षमा उभिए भनेर इरानले आफ्ना मानिसलाई सोधिरहेको दुखेसो पनि गरेका छन्।

ट्रम्पले अगाडि लेखेका छन्, ‘यी सिनेटरहरूले मेरो कामलाई अझ गाह्रो बनाएका छन्, तर म यो कुनै न कुनै रूपमा पूरा गर्नेछु, किनकि म सधैँ आफ्नो काम पूरा गर्छु।’

अमेरिकाको सिनेटमा मंगलबार भएको मतदानमा चार रिपब्लिकन सांसद पनि डेमोक्र्याटकै पक्षमा उभिएपछि इरान युद्धविरुद्धको प्रस्ताव ५०-४८ मतले पारित भएको हो।

यसअघि अमेरिकाको प्रतिनिधिसभा (हाउस अफ रिप्रेजेन्टेटिभ्स) ले पनि इरानविरुद्ध युद्ध रोक्ने प्रस्ताव २१५-२०८ मतले पारित गरेको थियो। जतिबेला चार जना रिपब्लिकन सांसदले पनि साथ दिएका थिए।

यद्यपि यो प्रस्ताव मूलत: प्रतीकात्मक हो, किनभने कंग्रेस (संसद्) का दुवै सदनले पारित गरे पनि यो राष्ट्रपति ट्रम्पलाई विचारका लागि पठाइने छैन र कानुनी रूपमा बाध्यकारी हुनेछैन।

यद्यपि मतदान महत्त्वपूर्ण छ, किनभने १९७३ को युद्ध शक्ति प्रस्ताव लागु भएयता अमेरिकी संसद्‌का दुवै सदनले राष्ट्रपतिलाई सैन्य कारबाही अन्त्य गर्न निर्देशन दिने प्रस्ताव पहिलोपटक पारित गरेका हुन्।

यो पारित हुनु पनि महत्त्वपूर्ण मानिन्छ, किनभने यसले इरान युद्ध अन्त्य गर्न ह्वाइट हाउसमा दबाब बढाउँछ।

यद्यपि ह्वाइट हाउसका एक अधिकारीले बीबीसीसँग भनेका छन्, ‘अप्रिल ७ मा युद्धविरामपछि अमेरिकी सेना फिर्ता गरिनुपर्ने गरी कुनै पनि सक्रिय सैन्य कारबाही छैन।’

ती अधिकारीले दुई रिपब्लिकन सिनेटर मिच म्याककोनेल र डेभ म्याककोर्मिक मतदानको समयमा अनुपस्थित भएका कारण प्रस्ताव पारित भएको पनि बताएका छन्।

उनका अनुसार चार रिपब्लिकन सिनेटर- रान्ड पल, लिसा मुर्कोव्स्की, सुसान कोलिन्स र बिल क्यासिडीले भने प्रस्तावका पक्षमा डेमोक्र्याटहरूसँगै मतदान गरे। यसविरुद्ध डेमोक्र्याटिक सिनेटर जोन फेटरम्यान एकजना मात्र उभिए।

यो मतदानलाई नोभेम्बरमा हुने मध्यावधि चुनावअघि रिपब्लिकन पार्टी भित्र बढ्दो मतभेदको अर्को संकेतका रूपमा हेरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)

सम्बन्धित विषय