महिलामा लगानी वर्ष : महिला मन्त्रालयलाई १ अर्ब ६० करोड विनियोजन
ekantipur.com · Tue May 28 23:27:50 UTC 2024

काठमाडौँ — सरकारले आगामी आर्थिक वर्षमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका लागि १ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । नयाँ कार्यक्रमका रूपमा ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सुरु गर्ने घोषणा गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत सञ्चालन हुने यो कार्यक्रममार्फत छोरीलाई रोजगार उन्मुख शिक्षा र सीप प्रदान गर्ने गरी १० करोड विनियोजन गरिएको छ ।
संघीय संसद्को संयुक्त सदनमा आर्थिक वर्ष २०८१/८२ को बजेट मंगलबार प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले प्रदेश र स्थानीय तहसँगको समन्वय र सहकार्यमा सरकारले कार्यक्रम सञ्चालन गर्ने बताएका छन् । १८ देखि ४० वर्ष उमेर समूहका महिलालाई आयआर्जन लक्षित कार्यक्रम गर्न यो कार्यक्रम ल्याइएको मन्त्रालयकी प्रवक्ता चन्द्रकला पौडेलले बताइन् । ‘नीति तथा कार्यक्रम बनाउँदा यस कार्यक्रमको ढाँचामा सामान्य तयारी भएको थियो,’ उनले भनिन्, ‘कार्यान्वयन मोडालिटी तयार भइरहेको छ, बजेटमा पनि हाइलाइट गरिएकोले सहजीकरणका निकायहरुसँग छलफल गर्न बाँकी छ, आर्थिक वर्ष सकिन अझै डेढ महिना छ, त्यतिन्जेलमा मोडालिटी बनिसक्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)