मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गुटबन्दी गरे प्रदेश र जिल्लाकै नेतृत्वमाथि कारबाही गर्ने रवि लामिछानेको चेतावनी

lokaantar.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीभित्र गुटबन्दी र समूहगत गतिविधि नगर्न कडा निर्देशन दिएका छन् ।

चितवनमा जारी रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनका क्रममा सभापति लामिछानेले सबै प्रदेश सभापतिहरूलाई निर्देशन दिँदै पार्टीभित्र गुटबन्दीको संकेतसमेत देखिए प्रदेश र जिल्ला नेतृत्वमाथि कारबाही गरिने चेतावनी दिएका हुन् ।

रास्वपा प्रवक्ता मनिष झाले लामिछानेले महाधिवेशनमा कतै पनि गुट वा समूहको नाममा गतिविधि भएको पाइए सम्बन्धित प्रदेश तथा जिल्ला नेतृत्वलाई जिम्मेवार ठहर गर्दै अनुशासनात्मक कारबाही गरिने स्पष्ट पारेको जानकारी दिए ।

रास्वपाले महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरिरहेका बेला पार्टीभित्र आन्तरिक एकता कायम राख्न सभापति लामिछानेले यस्तो निर्देशन दिएका हुन् ।

महाधिवेशन अन्तर्गत बुधबार केन्द्रीय सदस्यका लागि निर्वाचन हुँदैछ । ९९ केन्द्रीय सदस्यका लागि ३८४ जनाको उम्मेदवारी दर्ता भएको झाले बताए ।

लामिछाने भने मंगलबार नै निर्विरोध सभापति निर्वाचित भइसकेका छन् । सभापतिमा उनको मात्र उम्मेदवारी परेपछि लामिछाने निर्विरोध निर्वाचित भएका हुन् ।

रास्वपाले अब पहिलो चरणमा केन्द्रीय सदस्यका लागि निर्वाचन गर्नेछ । त्यसपछि पदाधिकारीका लागि निर्वाचन हुनेछ ।

मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मशिन तयार पारिएको छ ।

बिहीबारसम्म महाधिवेशनको सबै काम सकिने प्रवक्ता झाले बताए ।

आन्तरिक व्यवस्थापन भद्रगोल हुँदा रास्वपाको महाधिवेशन लम्बिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)