मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मध्यरातमा परोपकार घाटमा निर्बस्त्र भएर हल्ला गर्ने ४ जना पक्राउ

barnanmedia.com · Wed Jun 24 11:03:49 GMT 2026

विराटनगरको परोपकारघाटमा मादक पदार्थ र गाँजा सेवन गरी अभद्र व्यवहार प्रदर्शन गर्ने व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सामाजिक सञ्जालमा एक व्यक्ति नग्नरूपमा प्रस्तुत भएको र बाबा बनेर देवता डाक्ने बहानामा अवाञ्छित गतिविधि गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले उनीहरूलाई मंगलबार राति पक्राउ गरेको हो।

पक्राउ परेका व्यक्तिहरू अभद्र गतिविधिमा संलग्न रहेको र उनीहरूले सामान्यरूपमा मादक पदार्थ तथा गाँजा सेवन गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। धार्मिक आस्थाको दुरुपयोग गर्दै कसैको उक्साहटमा परेर उनीहरूले यस्तो हर्कत गरेको हुन सक्ने अनुमान गरिएको छ।

पक्राउ पर्नेहरूमा विराटनगर-६ का ४४ वर्षीय शंकरमणि मण्डल, सुनसरीको रामधुनी नगरपालिका-६ का २५ वर्षीय कैलाश ढुंगाना, भोजपुरको रामप्रसाद राई गाउँपालिका-६ का १८ वर्षीय मानस काफ्ले र विराटनगर-४ का ४४ वर्षीय छविलाल घिमिरे रहेको प्रहरीले जनाएको छ।

उनीहरूले सोमबार मध्यरातमा विराटनगर महानगरपालिका-१ स्थित परोपकार घाटमा दाहसंस्कार स्थलमा होहल्ला गर्दै निर्वस्त्र भएर अश्लील हर्कत गरेको प्रहरीले जनाएको छ। मंगलबार राति पनि त्यस्तै गतिविधि भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीको भनाइ छ।

सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएसँगै प्रहरीले सक्रियता बढाएर उनीहरूलाई रातकै समयमा नियन्त्रणमा लिएर थुनामा राखेको हो।

मोरङ एसपी कवित कटुवालका अनुसार नियन्त्रणमा लिइएका ती व्यक्तिहरूमाथि अभद्र व्यवहारको कसुरमा कानुनी प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ।

धार्मिक स्थलको मर्यादाविपरीत अमर्यादित र नग्नरूपमा प्रस्तुत भई समाजमा नकारात्मक असर पारेको भन्दै उनीहरूविरुद्ध मुद्दा चलाउने तयारी भइरहेको उनले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)