पार्टीमा कुनै गुट उपगुट छैन: असिम साह
gorkhapatraonline.com · Wed Jun 24 11:38:07 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रधानमन्त्रीका सल्लाहकार असिम साहले पार्टीभित्र कुनै पनि किसिमको गुट उपगुट नरहेको स्पष्ट पार्नुभएको छ। महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले सभापति रवि लामिछानेको प्रस्तावक नै वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह बसेपछि गुटको चर्चा पूर्ण रूपमा अन्त्य भएको बताउनुभयो।
सञ्चारकर्मीसँग बोल्दै नेता साहले भन्नुभयो, “राष्ट्रिय स्वतन्त्र पार्टीमा कुनै गुट र समूह छैन। सभापतिको प्रस्तावक स्वयं प्रधानमन्त्री भएपछि यो गुट उपगुटको बहस यहीँ सकिएको छ। पार्टीभित्र गुट भन्ने चिज नै छैन।”
रास्वपाको संविधान संशोधन कार्यदलका संयोजकसमेत रहनुभएका साहले संविधान संशोधनको कार्य राष्ट्रिय सहमतिअनुसार नै अघि बढ्ने उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “संविधान संशोधनका सवालमा हरेक राजनीतिक दलका आ-आफ्ना धारणा हुन्छन्। हामीले बहसपत्र तयार गरिसकेपछि यस प्रक्रियामा अगाडि बढ्नेछौँ। सरकार गठन भएको सय दिनभित्र हामीले संविधान संशोधन बहसपत्र तयार पार्ने गरी काम गरिरहेका छौँ।”
प्रदेश खारेजीको प्रस्तावसँगै रास्वपा सङ्घीयता नै खारेज गर्ने बाटोमा लागेको हो? भन्ने सञ्चारकर्मीको जिज्ञासामा कार्यदल संयोजक साहले बहसपत्र तयार गर्ने क्रममा सबै पक्षको सुझावलाई समेटिने बताउनुभयो। उहाँले थप्नुभयो, “बहसपत्र तयार पार्ने क्रममा हामीले पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्रीदेखि समाजका सबै क्षेत्रका व्यक्तिको कुरा सुनिरहेका छौँ। यसमा एउटा साझा राष्ट्रिय सहमति कायम गरिनेछ, अहिल्यै यही नै हुन्छ भनेर ठोकुवा गर्ने अवस्था छैन।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
बालेन शाह