मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानी आणविक केन्द्रमा निरीक्षण हुने सङ्केत

gorkhapatraonline.com · Wed Jun 24 11:35:39 GMT 2026

संयुक्त राष्ट्रसङ्घअन्तर्गतको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) का महानिर्देशक राफेल मारियानो ग्रोसीले इरानका आणविक संवर्धन केन्द्रमा आफ्ना निरीक्षकले पुनः पहुँच पाउने सङ्केत गर्नुभएको छ । अमेरिका र इरानबिच भएको अन्तरिम समझदारीअनुसार ती केन्द्रको निरीक्षण हुने उहाँको भनाइले युद्धपछिको आणविक विवाद समाधानतर्फ महत्त्वपूर्ण प्रगति भएको देखाएको छ ।

जापानको फुकुसिमा दाइची आणविक ऊर्जा केन्द्रको भ्रमणका क्रममा पत्रकारसँग कुरा गर्दै ग्रोसीले अमेरिका र इरानबिच भएका केही परस्परविरोधी अभिव्यक्तिलाई ‘शब्दको युद्ध’को संज्ञा दिनुभयो । उहाँले दुवै देशका राष्ट्रपतिले हस्ताक्षर गरेको समझदारीपत्रमा आइएइएद्वारा निरीक्षण गरिने कुरा स्पष्ट रूपमा उल्लेख गरिएको बताउनुभयो ।

ग्रोसीका अनुसार आणविक सामग्री र सम्बन्धित गतिविधिमाथि आइएइएको निगरानी रहने सहमति भएको छ । निरीक्षण भोलिपल्ट होस्, एक सातापछि होस् वा केही दिनपछि, अन्ततः निरीक्षण हुने निश्चित रहेको उहाँले बताउनुभयो । इरान र अमेरिकाबिच हालै भएको अन्तरिम सम्झौताले इरानको उच्च स्तरमा संवर्धित युरेनियम भण्डारलाई घटाउने व्यवस्था गरेको छ ।

उक्त प्रक्रिया प्रभावकारी बनाउन आइएइएको निरीक्षणलाई अत्यन्त महत्त्वपूर्ण मानिएको छ । सन् २०२५ मा इजरायल र इरानबिच १२ दिनसम्म चलेको युद्धपछि तेहरानले आइएइएलाई संवर्धन केन्द्रमा प्रवेश गर्न दिएको छैन । ती केन्द्रमा इरानले सम्भावितरूपमा आणविक हतियार निर्माण गर्न पर्याप्त मात्रामा समृद्ध युरेनियम भण्डारण गरेको आशङ्का पश्चिमी मुलुकले गर्दै आएका छन् ।

इरानले भने आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि मात्र रहेको दाबी गर्दै आएको छ । यद्यपि, हतियार निर्माण कार्यक्रम नभएको दाबी गर्ने मुलुक मध्ये इरान मात्रै ६० प्रतिशतसम्म युरेनियम संवर्धन गर्ने देश बनेको छ । मङ्गलबार इरान र अमेरिकाका अधिकारीहरूले निरीक्षणको विषयमा फरक-फरक अभिव्यक्ति दिएका थिए । इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले गत वर्ष अमेरिकी बमबारीमा परेका आणविक केन्द्रको निरीक्षण गर्ने कार्यक्रम नभएको बताउनुभएको थियो ।

युद्धपछि बुसेहर आणविक ऊर्जा केन्द्रलगायत केही स्थलमा आइएइएलाई प्रवेश दिइए पनि मुख्य संवर्धन केन्द्रमा पहुँच नपाउँदा इरानको युरेनियम भण्डारको वास्तविक अवस्था पुष्टि गर्न नसकिएको एजेन्सीले जनाएको छ । युरेनियम संवर्धनमा प्रयोग हुने सेन्ट्रिफ्युजको अवस्था जाँच गर्न पनि आइएइए असमर्थ रहेको छ ।

इरान र आइएइए दुवैले हाल कुनै नयाँ संवर्धन गतिविधि नभएको बताएका छन् । यद्यपि, केही अप्रसार विशेषज्ञले इरानले आफ्नो युरेनियम भण्डार अघोषित स्थानमा सारेको हुन सक्ने चिन्ता व्यक्त गरेका छन् । गत साता अमेरिका र इरानबिच भएको सम्झौताअनुसार तेहरानले आफ्नो समृद्ध युरेनियम भण्डार घटाउने तथा इरानी तेलमाथिका अमेरिकी समर्थन प्राप्त प्रतिबन्ध खुकुलो बनाउने सहमति भएको छ । दुवै पक्षलाई थप व्यापक समझदारीमा पुग्न ६० दिनको समय दिइएको छ ।

यसबिच लेबनानमा इजरायल र इरान समर्थित हिजबुल्लाहबिचको तनावले युद्धविरामको अवस्थालाई चुनौती दिएको छ । मङ्गलबार लेबनानमा पुनः हिंसात्मक घटना भए पनि स्थिति थप जटिल बनेको छैन । यता अमेरिकी विदेशमन्त्री मार्को रुबियो तीन राष्ट्रको भ्रमणका क्रममा पर्सियन खाडी क्षेत्रमा पुग्नुभएको छ । उहाँले अबुधाबीमा संयुक्त अरब इमिरेट्सका राष्ट्रपति मोहम्मद बिन जायद अल नाह्यानसँग भेटवार्ता गर्नुभएको छ भने त्यसपछि कुवेत र बहराइन भ्रमण गर्ने कार्यक्रम रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । रासस/एपी

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)