ओलीले बोलाएको बैठक छल्न प्रचण्ड चितवनतिर, कांग्रेसले मानेन तत्काल काँध फेर्न
barnanmedia.com · Tue Mar 18 22:44:18 GMT 2025

राजावादीको भिड देखाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारबाट विस्थापित गर्ने र कांग्रेससँग मिलेर आफू सत्ताको लिस्नो चढ्ने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रयास तत्काल विफल भएको छ । फागुन २४ गते आफ्नो पार्टीको जागरण अभियान छाडेर रौतहटबाट हतारहतार काठमाडौँ आएका उनले राजावादी कार्यक्रममा मास बढाइदिन आफ्नै कार्यकर्तालाई समेत पठाएका थिए, जसरी उनले यसअघि रास्वपाको कार्यक्रममा पनि मान्छे पठाइदिने गरेका थिए। ती प्रत्येक असन्तुष्ट र विरोधी सभा तथा भेलाहरुलाई उनले ओलीविरुद्धको असन्तोष र जनताको तिरस्कारका रुपमा व्याख्या गर्ने गरेका थिए । यसपालि राजावादीको भेलालाई पनि उनले ओलीप्रतिकै वितृष्णाका रुपमा अर्थ्याउँदै कांग्रेससँग पुनः घाँटी जोड्न चाहेका थिए ।
तर प्रचण्डबाट पाएको धोकाबाट आजित भएका कांग्रेस सभापति शेरबहादुर देउवा ओलीसँगको सम्झौताबाट टसको मस भएनन् । प्रचण्डले भारतको डर देखाउँदासमेत देउवाले ओलीसँगको सत्ता साझेदारीको समझदारीमा तलमाथि हुन नसक्ने स्पष्ट संकेत दिए । यति मात्र नभएर उनले ओलीले संक्रमणकालीन न्यायका लागि लिने पहलमा साथ दिन पनि आग्रह गरे । त्यसका लागि उनले बालुवाटारमा हुने तीन दलीय बैठकमा पनि बोलाए । बालुवाटारमा ओलीको पहलमा हुने बैठकको निम्तो प्राप्त भएपछि प्रचण्ड रन्थनिएर मंगलबार एकाएक चितवन हानिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)