मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपा केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी

nepalsamaya.com · Wed Jun 24 11:54:28 GMT 2026

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिका लागि ३८४ जनाले मनोनयन दर्ता गराएका छन्।

पार्टीको निर्वाचन आयोगले ९९ केन्द्रीय सदस्यका लागि हुने चुनावमा ३८४ जनाले उम्मेदवारी दिएको भन्दै प्रारम्भिक सूची प्रकाशन गरेको हो। तीमध्ये ८० जना महिला छन्।

कार्यसूची अनुसार अब प्रारम्भिक सूचीमाथि दाबी विरोध र उजुरी माग गरिन्छ। त्यसमाथि छानबिन गरेर उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुन्छ। त्यसपछि मात्रै केन्द्रीय सदस्य चयनका लागि चुनाव हुने कार्यतालिका छ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य (खुला तर्फ) का उम्मेदवार गणेश कार्कीले पार्टीको आन्तरिक निर्वाचनलाई प्राविधिक प्रक्रिया मात्र भएको भन्दै परिणामलाई सहज रूपमा लिन आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै कार्कीले खुला तर्फको केन्द्रीय सदस्य पदका लागि आफू सहित ३८४ जना प्रतिस्पर्धामा रहेको उल्लेख गरेका छन्। उनले तीमध्ये ९९ जना निर्वाचित हुने र २८५ जना बाहिरिने अवस्था रहने बताए।

कार्कीले निर्वाचनको नतिजाले व्यक्तिगत रूपमा फरक पार्न सक्ने भए पनि पार्टीको हितका दृष्टिले ठूलो प्रभाव नपर्ने धारणा व्यक्त गरेका छन्। ‘निर्वाचित भएपनि र नभएपनि देशको जिम्मेवारी बोक्ने सवालमा हामी सँगै हिँड्नुपर्छ, त्यो पनि काँधमा काँध मिलाएर,’ उनले लेखेका छन्।

उनले निर्वाचनलाई केवल प्राविधिक विषयका रूपमा लिन आग्रह गर्दै परिणामका कारण कसैको मनमा नकारात्मक भावना उत्पन्न नहोस् भन्ने अपेक्षा व्यक्त गरेका छन्।

प्रतिस्पर्धामा रहेका सबै उम्मेदवारलाई शुभकामना दिँदै कार्कीले पार्टीभित्र एकता, सहकार्य र सकारात्मक भावनाका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)

सम्बन्धित विषय