मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सवारी जाँचपासमा ५ गुणासम्म बढ्यो घुसको रेट, यातायातका कर्मचारीले बार्गेनिङ गर्दै असुलिरहेको व्यवसायीको गुनासो

nepalpress.com · Wed Jun 24 11:56:56 GMT 2026

काठमाडौं । सरकारले सुशासन र भ्रष्टाचार नियन्त्रणको नारा दोहोर्‍याइरहेका बेला यातायात कार्यालयहरूमा सवारीसाधनको प्राविधिक परीक्षण (जाँचपास) का नाममा हुने घुसखोरी झन् महँगो बनेको व्यवसायीहरूले गुनासो गरेका छन् ।

सरकारी शुल्क न्यून भए पनि जाँचपास, दर्ता र नामसारीका हरेक चरणमा हजारौं रूपैयाँ अतिरिक्त रकम नबुझाए काम नहुने अवस्था रहेको उनीहरूले बताएका छन् । यातायातका कर्मचारीले गाडीको जाँचपास प्रक्रियालाई कमाइको माध्यम बनाइरहेको उनीहरूको आरोप छ ।

यातायात व्यवस्था विभाग र सवारी जाँचपास गर्ने एकान्तकुना लगायतका कार्यालयमा गाडीको प्राविधिक परीक्षणका क्रममा विनाघुस कामै नहुने व्यवसायीले दाबी गरेका छन् । एक अटोमोबाइल व्यवसायीका अनुसार भन्सारदेखि यातायात व्यवस्था कार्यालयसम्मका विभिन्न चरणमा प्राविधिक परीक्षणका नाममा प्रतिगाडी २ हजार ५ सयदेखि १० हजार रूपैयाँसम्म घुस बुझाउनुपर्ने बाध्यता छ ।

गाडी आयात गर्दा भन्सारमा खटिएका प्राविधिकदेखि विभाग र सवारी जाँचपास गर्ने यातायात कार्यालयका कर्मचारीले घुस नखाई काम नै गर्दैनन् । गाडी भन्सारबाट भित्रिएपछि नै अतिरिक्त रकमको खेल सुरु हुन्छ । त्यसपछि यातायात व्यवस्था विभागमा प्रज्ञापनपत्र अनुसार गाडीको नम्बर लिने र दर्ता गर्ने क्रममा पुनः अर्को जाँचपास गर्नुपर्छ र त्यसबेला पनि प्राविधिक परीक्षणको नाममा रकम असुल गरिन्छ ।

ती व्यापारीले भने, ‘आयातकर्ताले डिलरको बैंकको नाममा गाडी नामसारी गर्दा एउटा जाँचपास हुन्छ । बैंकबाट डिलरको नाममा आउँदा अर्को जाँचपास र डिलरले ग्राहकलाई बेच्ने बेलामा फेरि अर्को जाँचपास गरिन्छ । एउटा प्राविधिक परीक्षण गर्दा ३ हजारदेखि १० हजारसम्म घुस खुवाउनुपर्छ । तीन दिनभित्रै यी सबै प्रक्रिया सकिए अतिरिक्त रकम अलि थोरै लाग्छ । तर, जति समय लम्बियो, त्यति नै घुसको रेट बढ्दै जान्छ ।’

सवारीसाधनको प्राविधिक परीक्षणका लागि सरकारले तोकेको आधिकारिक बिल भुक्तानी शुल्क प्रतिगाडी २०० देखि ३०० रूपैयाँ मात्रै भए पनि व्यवहारमा कमिसन नख्वाइ फाइल नै अघि नबढ्ने ती व्यापारी बताउँछन् ।

पहिले एक-दुई हजार रूपैयाँ दिएर जाँचपास हुनेमा अहिले ‘घुस रेट’ बढाएर ५ देखि १० हजारसम्म पुर्‍याइएको अर्का एक व्यापारीको दाबी छ ।

‘जाँचपास गर्ने कर्मचारीलाई फाइल दिँदा गाडीको चेसिस नम्बर देखिँदैन भन्दै काम रोकिदिने र दुःख दिने नियत राख्ने राख्छन् । कि त चेसिस नम्बर देखिने गरेर ल्याऊ, होइन भने काम हुँदैन भन्दै घुमाउरो पाराले बार्गेनिङ गर्छन् । हामी आजित भइसक्यौँ’, उनले भने ।

अहिले ‘हामीलाई काम गर्न गाह्रो छ’ भन्दै एकैपटक ३ देखि ५ गुणासम्म घुस बढाएको वृद्धि गरेको गाडी विक्रेताहरू बताउँछन् । आयातकर्ता, डिलर हुँदै ग्राहकसम्म पुग्दा एउटै गाडीको धेरैपटक प्राविधिक परीक्षण गर्नुपर्ने र प्रत्येक पटक अतिरिक्त रकम बुझाउनुपर्ने हुन्छ । यसरी गाडी आयात र बिक्री वितरणका क्रममा बिचौलिया तथा कर्मचारी संयन्त्रलाई उनीहरूले यो रकम बुझाउँदा मारमा भने उपभोक्ता पर्ने गरेका छन् ।

यातायात व्यवस्था कार्यालय (साना ठुला सवारी) एकान्तकुनाका कार्यालय प्रमुख पवित्र कुँवरले सवारीसाधनको प्राविधिक परीक्षण (पास) गर्दा कुनै पनि प्रकारको अनधिकृत रकम लेनदेन नहुने बताए । व्यापारीहरूको आरोप पूर्णतः गलत रहेको र त्यस्तो गुनासो आफूकहाँ अहिलेसम्म नआएको उनको भनाइ छ ।

‘पारदर्शिता कायम राख्न कार्यालय प्रमुख, प्रशासन प्रमुख र सूचना अधिकारीको मोबाइल नम्बर सबैले देख्ने गरी टाँसेका छौँ । सेवाग्राहीलाई केही समस्या परे सीधै फोन गर्न सकिन्छ । डिजिटल युगमा कर्मचारीले जथाभावी रकम लिनै सक्दैनन् । कसैले गल्ती गरेको वा रकम मागेको खण्डमा प्रमाणसहित आए त्यस्ता कर्मचारीलाई म कारबाही गर्छु’, कुँवरले नेपाल प्रेससाग भने ।

यातायात कार्यालयमा नेपाल प्रहरीलगायतका अन्य नियमनकारी प्रतिनिधिको पनि नियमित रूपमा अनुगमन भइरहेको भन्दै सेवाग्राही र व्यवसायीहरूलाई कुनै पनि भ्रममा नपरी समस्या परेको खण्डमा सम्पर्क गर्न सक्ने उनको भनाइ छ ।

कुँवर भन्छन् ‘अहिलेसम्म म भएको ठाउँमा घुस माग्यो भनेर कोही पनि गुनासो गर्न आएका छैनन् ।’

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)