स्वार्थको द्वन्द्व रोक्ने कानून माग गरिएको रिटमा कारण देखाऊ आदेश जारी
neplays.com · Wed Jun 24 12:00:00 GMT 2026

खेलकुद क्षेत्रमा विद्यमान स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) नियन्त्रण गर्न स्पष्ट कानूनी व्यवस्थाको माग गर्दै दायर गरिएको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । पूर्व राष्ट्रिय क्रिकेट खेलाडी आमीर अख्तरले खेलकुद प्रशासनमा सुशासन, पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्न कानूनी हस्तक्षेपको माग गर्दै दायर गरेको रिट निवेदनमा पहिलो सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो ।
बुधबार भएको प्रारम्भिक सुनुवाइमा निवेदक अख्तरका तर्फबाट खेलकुद तथा वाणिज्य कानूनका विज्ञ अधिवक्ता सहदेव खत्रीले बहस गरेका थिए । उक्त बहसपश्चात् सर्वोच्च अदालतका माननीय न्यायाधीश हरी फुयालको एकल इजलासले विपक्षीहरू नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नाममा लिखित जवाफ पेस गर्न कारण देखाऊ आदेश जारी गरेको छ । अदालतको यो आदेशसँगै अब विपक्षी निकायहरूले खेलकुदमा स्वार्थको द्वन्द्व व्यवस्थापनका विषयमा आफ्नो लिखित जवाफसहित अदालतमा उपस्थित हुनुपर्नेछ ।
रिट निवेदनमा नेपालको खेलकुद क्षेत्रलाई केवल मनोरञ्जनको माध्यमका रूपमा मात्र नभई एउटा सम्भावनायुक्त उद्योगका रूपमा विकास गर्न संस्थागत सुशासन अनिवार्य सर्त भएको जिकिर गरिएको छ ।
पछिल्लो समय खेलकुदको व्यावसायीकरणसँगै पदाधिकारी नियुक्ति, खेलाडी छनोट, सार्वजनिक खरिद, तथा बजेट एवं अनुदान वितरणमा निर्णयकर्ताहरूको व्यक्तिगत, पारिवारिक वा व्यावसायिक स्वार्थ बाझिने गरेको प्रश्न उठ्दै आएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी), फिफा तथा अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) जस्ता मापदण्ड निर्धारण गर्ने निकायहरूले स्वार्थको द्वन्द्व सम्बन्धी कडा र बाध्यकारी नियमहरू लागू गरिसकेका छन् ।
सोहीअनुरूप नेपालमा पनि खेलकुद संस्थाहरूको विश्वसनीयता जोगाउन र खेलाडी एवं सरोकारवालाहरूबीच भरोसायुक्त वातावरण निर्माण गर्न छुट्टै कानूनी व्यवस्था, संशोधन वा निर्देशनात्मक आदेशको माग रिटमा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)